पाठ 8 हाम्रो सामाजिक दायित्व

एकाइ तीन

१. जेष्ठ नागरिकको महत्त्व कुनै चार बुँदामा उल्लेख गर्नुहोस् ।
उत्तर : जेष्ठ नागरिकको महत्त्वलाई निम्न बुँदाका माध्यमबाट स्पष्ट पार्न सकिन्छ :-

(क) समाजको निर्माणकर्ता
(ख) सामाजिक तथा सांस्कृतिक ज्ञान, मूल्य मान्यता र परम्पराका धरोहर
(ग) अथाह अनुभव र ज्ञानको भण्डार
(घ) असल बाटो देखाउने पथप्रदर्शक

२. “जेष्ठ नागरिक हाम्रा पथप्रदर्शक, संस्कृति, मूल्यमान्यता र परम्पराका स्रोत हुन् ।” यस भनाइलाई तर्कसहित पुष्टि गर्नुहोस् ।

उत्तर: जेष्ठ नागरिकहरूले आफ्नो जीवनमा प्रशस्त उतार चढाव भोगेका हुन्छन् । त्यही उतार चढाव र भोगाइका कारण जेष्ठ नागरिकहरूमा अथाह अनुभव र ज्ञानको भण्डार रहेको हुन्छ । तसर्थ उहाँहरू हाम्रा असल पथ प्रदर्शक हुन् । हामीलाई सधैं सत्मार्गमा लाग्न प्रेरित गर्ने प्रेरक पनि हुन् जेष्ठ नागरिकहरू । समाज निर्माणमा उहाँहरूको ठुलो योगदान रहेको छ । आज हामीले जुन सांस्कृतिक गौरव प्राप्त गरेका छौं त्यो उहाँहरूकै योगदान हो । संस्कृतिको स्रोत, पुस्तान्तरण र हस्तान्तरणको माध्यम जेष्ठ नागरिक नै हुन् । सांस्कृतिक ज्ञान, मूल्य मान्यता र परम्पराका धरोहरका रूपमा जेष्ठ नागरिक रहेका छन् ।

३. असहाय र अपाङ्गता भएका व्यक्तिको सुविधा र संरक्षणका लागि भएका कानुनी व्यवस्थाहरू के के छन्, उल्लेख गर्नुहोस् ।

उत्तर : असहाय र अपाङ्गता भएका व्यक्तिको सुविधा र संरक्षणका लागि भएका कानूनी व्यवस्थाहरू:-

(क) नेपालको संविधान, २०७२ मा मौलिक हक अन्तर्गत रोजगारी तथा सामाजिक सुरक्षासम्बन्धी हकमा वृद्ध,अपाङ्ग, अशक्त र असहाय नागरिकलाई कानुनमा व्यवस्था भएबमोजिम सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरिएको छ ।
(ख) राज्यका नीतिहरूमा असहाय, वृद्ध, अपाड्ग, अशक्तको संरक्षण र उन्नतिका लागि सामाजिक सुरक्षाको विशेष व्यवस्था गर्ने नीति अवलम्बन गर्ने उल्लेख गरिएको छ ।
(ग) अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको मूल प्रवाहमा ल्याउन राज्यका हरेक निकायमा आरक्षणको व्यवस्था गरिएको छ ।
(घ) सार्वजनिक स्थलहरूमा अपाङ्गमैत्री वातावरण तयार गरी विशेष संरक्षण गर्ने प्रयास गरिएको छ ।

४. अपाङ्गता भएका व्यक्तिलाई दया माया होइन, अवसर प्रदान गर्नुपर्छ, किन ?

उत्तर : दया मायाले मात्र अपाङ्गता भएका व्यक्तिहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिँदैन । उनीहरूका समस्या समाधान गरी दिगो रूपमा सम्मानजनक ढङ्गबाट रहन सक्ने अवस्थाको सिर्जना हुनु जरुरी छ । त्यसका लागि उनीहरूको क्षमता पहिचान गर्ने र क्षमताअनुरूपको रोजगारी तथा स्वरोजगारीको व्यवस्था गर्न सकेका मात्र उनीहरूप्रतिको दृष्टिकोण बदलिन्छ । अपाङ्गता भएका व्यक्तिले पनि गर्न सक्छन् भन्ने तथ्य सबैले बोध गर्छन् ।

तसर्व अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाई सम्मानजनक रूपमा जिउने अवसर प्रदान गर्न दया माया मात्र पर्याप्त हुँदैन, अवसर प्रदान गर्नुपर्छ । राज्यले अपाङ्गता भएका व्यक्तिलाई शिक्षाको अवसर दिएको छ । अन्य क्षेत्रमा अवसर दिएको छ । तसर्थ उनीहरूलाई आत्मनिर्भर र सम्मानको जीवन व्यतीत गर्ने अवस्थाको सिर्जना भएको छ ।

Similar Posts

Leave a Comment