एकाइ- -नौ: हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग

पाठ १ – नेपालको परराष्ट्र नीति

अभ्यास

एकाइ ९ हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग

१. परराष्ट्र नीति भनेको के हो ?

उत्तर : परराष्ट्र नीति भनेको कुनै पनि मुलुकले आफ्नो राष्ट्रिय हितका खातिर बाह्य जगत्मा उसको प्रभाव विस्तार एवम् प्रवर्धन गर्न तय गरिएको राष्ट्रिय नीति हो । यसलाई राज्यको अरू राज्यसँगको अन्तरसम्बन्धलाई नियमित गर्ने व्यवहारको पुञ्जका रूपमा लिन सकिन्छ ।

२. परराष्ट्र नीतिको महत्त्व उल्लेख गर्नुहोस् ।

उत्तर : परराष्ट्र नीतिको महत्त्वलाई निम्न बुँदाका माध्यमबाट स्पष्ट पार्न सकिन्छ :-

(क) राष्ट्र र राष्ट्रियताको संरक्षण र संवर्धन गर्न मदत गर्दछ ।

(ख) देशको अस्तित्वको सुरक्षा गर्दछ ।

(ग) पारस्परिक लाभमा वृद्धि गर्दछ ।

(घ) भूराजनीतिक सन्तुलन कायम गर्न मदत गर्छ ।

(ङ) अन्तर्राष्ट्रिय मञ्चमा पहुँच र प्रतिनिधित्व स्थापित गर्दछ ।

(च) शक्ति सम्पन्न राष्ट्रको स्वार्थबाट देशलाई बचाउँछ |

३. पञ्चशीलको सिद्धान्तअन्तर्गत कुन कुन सिद्धान्त पर्दछन् ?

उत्तर : पञ्चशीलको सिद्धान्तअन्तर्गत निम्न पाँचओटा सिद्धान्त पर्दछन् :-

(क) क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको सम्मान

(ख) अरू देशको आन्तरिक मामलामा अहस्तक्षेप

(ग) अनाक्रमण

(घ) परस्पर सहयोग र लाभको वृद्धि

(ङ) शान्तिपूर्ण सहअस्तित्व

४. पञ्चशीलको सिद्धान्तको महत्व समेटी एक लेख तयार पार्नुहोस् ।

उत्तर : पञ्चशीलको सिद्धान्त र यसको महत्त्व (लेख) पञ्चशीलको सिद्धान्त पाँचओटा नियम वा आचरणको संयुक्त रूप हो । नेपाल लगायतका विभिन्न राष्ट्रहरूले पञ्चशीलको सिद्धान्तलाई परराष्ट्र नीतिको प्रमुख सिद्धान्तका रूपमा ग्रहण गरेका छन् । सन् १९५५ अप्रिलमा इन्डोनेसियाको बाङ्डुङ सहरमा भएको सम्मेलनमा एसिया र अफ्रिकाका विभिन्न राष्ट्रको सहभागितामा यससम्बन्धी प्रस्ताव पारित भएको थियो । क्षेत्रीय अक्षुण्णता र सार्वभौमिकताको पारस्परिक सम्मान, अनाक्रमण, एक अर्काका देशीय समस्याहरूमा हस्तक्षेप नगर्ने, समानता र पारस्परिक हित र शान्तिपूर्ण सहअस्तित्व जस्ता महत्वपूर्ण पाँच सिद्धान्त पञ्चशीलको सिद्धान्तअन्तर्गत पर्दछन् ।

अन्तर्राष्ट्रिय शान्ति र समझदारी कायम राख्न पञ्चशीलको सिद्धान्त निकै महत्वपूर्ण रहेको छ । आफ्नो राष्ट्रको परराष्ट्र नीतिमा पञ्चशीलको सिद्धान्तलाई प्राथमिकता दिने हो भने विश्वमा आपसी भाइचारा र सहअस्तित्वको वातावरण सिर्जना हुन्छ । द्वन्द्वको मूल कारण कुनै पनि देशको आन्तरिक गतिविधिमा बाह्य हस्तक्षेप हो । यस सिद्धान्तले बाह्य हस्तक्षेपलाई निषेध गर्दछ । देशहरूका बिचमा आपसी सहयोग र सहकार्यको वातावरण सिर्जना हुन्छ । हरेक देशको राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान हुन्छ । यी विभिन्न कारणले गर्दा पञ्चशीलको सिद्धान्तको विश्वव्यापी महत्त्व रहेको छ ।

यसर्थ विश्वमा भएका विभिन्न साना तथा ठुला राष्ट्रहरूको समान अस्तित्व कायम गरी युद्धको सट्टा शान्तिको माध्यम, संवादको माध्यमबाट समस्या समाधान गर्न पञ्चशीलको सिद्धान्त निकै महत्त्वपूर्ण सावित भएको छ । विश्वबन्धुत्वको भावना विकास गरी हामी एक हौं भन्ने कुरालाई यस सिद्धान्तले जोड दिएको हुँदा यसको महत्त्व रहेको छ ।

५. पञ्चशीलको सिद्धान्तको अवलम्बनले विश्वमा शान्ति र मेलमिलापको भावना सिर्जना गर्छ । यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
उत्तर : पञ्चशीलको सिद्धान्तको अवलम्बनले विश्वमा शान्ति र मेलमिलापको भावना सिर्जना गर्छ । धेरै राष्ट्रहरूले आफ्नो परराष्ट्र नीतिको प्रमुख सिद्धान्तको रूपमा पञ्चशीलको सिद्धान्तलाई अवलम्बन गरेका छन् । यसको कारण विगतका तुलनामा वर्तमानमा युद्ध र हिंसाको वातावरण निकै कमी भएको छ । ठुला र शक्तिशाली राष्ट्रले साना र कमजोर राष्ट्रको अस्तित्व नस्वीकार्ने प्रचलन हराउँदै गएको छ । अनाक्रमणमा विश्वास राख्दै हस्तक्षेप नगर्ने नीति अवलम्बन भएको छ । शान्तिपूर्ण सहअस्तित्वमा सबैको ध्यान केन्द्रित भएको छ । युद्धका माध्यमबाट होइन वार्ता र संवादका माध्यमबाट समस्याको हल खोज्न थालिएको छ । तसर्थ पञ्चशीलको सिद्धान्तको अवलम्बनले विश्वमा शान्ति र मेलमिलापको भावना सिर्जना गर्छ ।

Similar Posts

Leave a Comment