एकाइ- -नौ: हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग

पाठ ५ – सूचना तथा सञ्चार प्रविधि

अभ्यास

१. शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ ? उल्लेख गर्नुहोस् ।
उत्तर : शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग यसरी गर्न सकिन्छ :-
(क) विषयवस्तुका रूपमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग, जस्तै: कम्प्युटर शिक्षा ।

(ख) विषयवस्तुलाई प्रभावकारी रूपमा सिकाइ सहजीकरण गर्न सूचना तथा सञ्चार प्रविधिको प्रयोग, जस्तै : मल्टिमिडियाको प्रयोग, स्मार्टबोर्डको प्रयोग, स्लाइड सोका लागि कम्प्युटर र प्रोजेक्टरको प्रयोग आदि ।

(ग) गृहकार्य तथा परियोजना कार्यका लागि आवश्यक सामग्री खोजी

(घ) विभिन्न सर्वेक्षणसँग सम्बन्धित कार्यका लागि गुगल फर्म, माइक्रोसफ्ट फर्मको प्रयोग

(ङ) अनलाइन कक्षा सञ्चालन र सहभागिता, जुम, टिम्स, गुगल क्लासरुम आदिबाट

२. सामाजिक सञ्जालको प्रयोग गरी तपाईंले के के फाइदा लिनुभएको छ ? सूची तयार गर्नुहोस् ।

उत्तर : सामाजिक सञ्जालको प्रयोग गरी मैले निम्न फाइदा लिएको छु :-

(क) साथीभाइ तथा आफन्तसँग निरन्तर सम्पर्क रही कुराकानी गरेको छु ।

(ख) युट्युबलगायतबाट अध्ययनका लागि आवश्यक सामग्री खोजी गरी सिकाइ क्षमता बढाएको छु ।

(ग) सर्वेक्षण फारामको लिंक मेसेन्जरमा सेयर गरी तथ्याङ्क सङ्कलन गरेको छु । यसबाट समयको बचत भएको छ ।

(घ) गुगल क्लासरुममा शिक्षकले दिनुभएका कार्य गरी तुरुन्त पृष्ठपोषण प्राप्त गरेको छु ।

(ङ) नबुझेका र अस्पष्ट भएका विषयवस्तु तुरुन्तै शिक्षकसँग म्यासेन्जरबाट सोधेर स्पष्ट हुने गरेको छु ।

३. तपाईंको विद्यालयमा सूचना प्रविधिको सुविधा छैन वा कमी छ भने त्यस्तो सुविधाको व्यवस्था गरिदिन व्यवस्थापन समितिको नाममा एक पत्र तयार पारी प्रेषित गर्नुहोस् ।

उत्तर :

मिति : २०८०/०५/१५

श्री अध्यक्षज्यू,
विद्यालय व्यवस्थापन समिति,
श्री मावि, धरमपुर, धनुषा

विषय : सूचना प्रविधिको सुविधा थप गर्ने सम्बन्धमा ।

महोदय,

उपर्युक्त सम्बन्धमा आजको युग सूचना तथा सञ्चारको युग हो । दिनानुदिन यसको महत्त्व बढ्दै गइरहेको छ । सञ्चारका विविध साधनको जोसँग पहुँच छ त्यो व्यक्तिसँग धेरै भन्दा धेरै सूचना हुन्छ । धेरै सूचना भएको व्यक्ति नै आजको युगमा शक्तिशाली पनि हुन्छ । त्यसले नै उन्नति गर्छ । आजको मान्यता साक्षरताबाट डिजिटल साक्षरतामा रूपान्तरण भएको कुरा पनि सर्वविदितै छ । हरेक क्षेत्रमा यसको उपयोगिता बढ्दै गएको कुरा अध्यक्षज्यूलाई अवगत नै छ ।

हाम्रो विद्यालयमा पनि केही वर्षयता सूचना तथा प्रविधिको साधनहरूको उपलब्धतामा वृद्धि हुँदै आएको छ । यसबाट शिक्षक तथा हामी विद्यार्थी लाभान्वित हुँदै आएका छौं । हाम्रो सिकाइमा यसले सकारात्मक प्रभाव पार्दै आएको छ । तर सूचना तथा सञ्चार प्रविधिको उपलब्धता पर्याप्त हुन सकेको छैन । ई-लाइब्रेरी, स्मार्टबोर्ड, कम्प्युटर ल्याबमा कम्प्युटर र तिव्र गतिको इन्टरनेटको अझै पनि पर्याप्तता हुन सकेको छैन । कमजोर विद्यार्थी तथा अन्य विद्यार्थीका लागि फ्लिप कक्षाको व्यवस्था गर्न सके अझै राम्रो हुने थियौ । हाम्रो जस्तो धेरै बिदा भइरहने विद्यालयमा यस्ता कक्षाले अभिभावकको निगरानीमा परियोजनामा आधारित सिकाइलाई प्रोत्साहन गर्ने हुँदा निकै उपयोगी हुन सक्छ । तसर्थ विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको पर्याप्त व्यवस्था मिलाइदिनु हुन अनुरोध छ ।

निवेदक कक्षा १० का सबै विद्यार्थीहरू

४. सूचना प्रविधिका कुनै दुई साधनको सङ्क्षिप्त परिचय दिनुहोस् ।
उत्तर : सूचना प्रविधिका कुनै दुई साधनको परिचय :-

(क) स्मार्टफोन : सूचना प्रविधिका साधनमध्ये सबैभन्दा बढी प्रचलनमा रहेको सामग्री स्मार्टफोन हो । जहाँसुकै, जहिले पनि सजिलैसँग प्रयोग गर्न सकिने यो साधन बहुउपयोगी साधन हो । यसबाट आवश्यक सामग्री खोजी गर्न, सामाजिक सञ्जालको प्रयोग गर्न, डिजिटल बुकहरू डाउनलाँड गरी अध्ययन गर्न सकिन्छ ।

(ख) स्मार्ट बोर्ड :- यो अन्तर्क्रियात्मक बोर्ड हो । यसलाई कक्षाकोठामा प्रयोग गर्न सकिन्छ । टेलिभिजन स्क्रिन जस्तै देखिने यो आफैंमा एक कम्प्युटर पनि हो । यसमा टचस्क्रिन हुन्छ । मल्टिमिडियाका रूपमा प्रयोग गर्न सकिने, इन्टरनेटबाट खोजी गर्न सकिने, हवाइटबोर्डका रूपमा प्रयोग गर्ने सकिने र लेखिएका कुरा रेकर्ड गरेर राख्न सकि भएकाले यो अहिले बढी प्रयोग र प्रचलनमा रहेको छ ।

५. के तपाईंको विद्यालयमा पनि फ्लिप कक्षाको सम्भावना छ ? कसरी ?

उत्तर : हाम्रो विद्यालयमा पनि फ्लिप कक्षाको सम्भावना रहेको छ । यो अन्तरर्क्रियात्मक कक्षा हो । यसबाट घरमै बसेर कक्षा कार्य गर्न सकिन्छ । यसका लागि अनलाइन माध्यमहरू गुगल कक्षा, गुगल मिट, जुम, माइक्रोसफ्ट टिम्स आदिको प्रयोग गरिन्छ । त्यस्तै अभिभावकको प्रत्यक्ष निगरानीमा परियोजनामा आधारित सिकाइ हुने भएकाले प्रभावकारी पनि हुन्छ ।

Similar Posts

Leave a Comment