एकाइ – सात: हाम्रो विगत

पाठ ५ वि.सं. २०६३ देखि २०७९ सम्मका राजनीतिक घटनाक्रम

अभ्यास

१. संविधान सभाबाट निर्मित संविधान जनमुखी हुन्छ । कसरी ? कारण दिनुहोस् ।

उत्तर : संविधान सभा जननिर्वाचित प्रतिनिधिहरूको संस्थाका रूपमा रहेको हुन्छ । जनताको चाहनाबमोजिमको लोकतान्त्रिक संविधान निर्माण गर्नका लागि यसको गठन भएको हुन्छ । जनताबाट निर्वाचित भएर आउने प्रतिनिधि जनताप्रति इमानदार र वफादार रहने विश्वास गरिन्छ । उनीहरूले जनताको भावनालाई प्रतिनिधित्व गर्दछन् । संविधान निर्माणका विभिन्न तरिका मध्ये यो तरिका सबैभन्दा उत्तम र लोकतान्त्रिक पनि हो । यसरी निर्माण गरिने संविधानमा लोकतन्त्र, मानव अधिकार, स्वतन्त्रता, मौलिक हक, कानुनी राज्य, राज्यका निर्देशक सिद्धान्त, आवधिक निर्वाचन जस्ता कुराको व्यवस्था गरी जनताको हित हुने व्यवस्था गरिएको हुन्छ । तसर्थ संविधान सभाबाट निर्मित संविधान जनमुखी हुन्छ ।

२. नेपालमा पहिलो संविधान सभाबाट संविधान जारी हुन नसक्नुका कारण के के हुन् ? लेख्नुहोस् ।

उत्तर : नेपालमा पहिलो संविधान सभाबाट संविधान जारी हुन नसक्नुका कारण निम्न छन् :- (क) माओवादी सबैभन्दा ठुलो दल भएको हिसाबले उसले नेतृत्वदायी र सहमतीय भूमिका निर्वाह गर्न नसक्नु (ख) संवैधानिक मूल्य मान्यता, सिद्धान्त, प्रस्तावना जस्ता कुरामा सबै दलको सहमती बन्न नसक्नु (ग) विगतमा झैँ दलहरूको अपरिपक्व र दलीय स्वार्थमा आधारित राजनीति (घ) संविधान निर्माणतिरभन्दा सरकार निर्माणतिर बढी ध्यान केन्द्रित गर्नू ।

३. नेपालमा गणतन्त्र स्थापनाका कारणहरू के के हुन् ? लेख्नुहोस् ।

उत्तर : नेपालमा गणतन्त्र स्थापनाका कारणहरू निम्न छन् :-

(क) राजाबाट पटक पटक प्रजातन्त्रको अपहरण गर्ने काम हुनु

(ख) राजतन्त्रको समयमा देशले सामाजिक, आर्थिकलगायतका उन्नति हासिल गर्न नसक्नु र अपेक्षाकृत विकास हुनु

(ग) माओवादी युद्धलाई शान्तिपूर्ण राजनीतिमा ल्याई जनतालाई पूर्ण अधिकारको प्रत्याभूति दिलाउन

(घ) वैदेशिक चलखेल

(ङ) गणतन्त्रबाट मात्र प्रजातन्त्रको पूर्ण प्रत्याभूति हुने भएकाले ।

४. वि.सं. २०४६ को जनआन्दोलन र २०६२, २०६३ को जनआन्दोलनबिचका समानता र भिन्नता लेख्नुहोस् ।

उत्तर : वि.सं. २०४६ र २०६२, २०६३ को जनआन्दोलनबिचका समानता :-

(क) दुवै जनआन्दोलनमा राजनीतिक दलको एकताबद्ध नेतृत्व रहेको

(ख) दुवै आन्दोलन राजाको सक्रिय शासनका विरुद्धमा भएको

(ग) दुवै आन्दोलनमा जनताको ठुलो समर्थन रहेको

(घ) दुवै आन्दोलन प्रजातन्त्रको लागि भएको वि.सं. २०४६ र २०६२, २०६३ को जनआन्दोलनबिचका भिन्नता :-

(क) दुवै आन्दोलनको पृष्ठभूमि फरक रहेको

(ख) पहिलो जनआन्दोलनमा बहुदलीय व्यवस्थाको पुनःस्थापनाको मात्र माग गरिएको थियो भने दोस्रो जनआन्दोलनमा पूर्ण लोकतन्त्रको माग गरिएको थियो ।

(ग) पहिलो जनआन्दोलनले बहुदलीय व्यवस्था पुनःस्थापित गरेको थियो भने दोस्रो जनआन्दोलनले गणतन्त्र स्थापना आधार तयार पारेको थियो ।

Similar Posts

Leave a Comment