एकाइ – आठ आर्थिक क्रियाकलाप

पाठ ४ वित्तीय शिक्षा

अभ्यास

अभ्यास

१. वित्तीय शिक्षा भनेको के हो ?

उत्तर : प्रत्येक व्यक्तिले आफूसँग भएको आर्थिक तथा वित्तीय साधनको महत्व बुझी सोहीअनुसारको उचित व्यवस्थापन गर्न सक्ने ज्ञान तथा सिपलाई वित्तीय शिक्षा भनिन्छ । यसलाई वित्तीय साक्षरता पनि भनिन्छ । यसअन्तर्गत विशेष गरेर आम्दानी, खर्च, बजेट व्यवस्थापन, बचत, ऋण आदि कुराको व्यवस्थित रूपमा परिचालन गर्नका लागि आवश्यक पर्ने ज्ञान, सिप तथा क्षमता नै वित्तिय शिक्षा हो ।

२. वित्तीय शिक्षाको महत्व उल्लेख गर्नुहोस् ।

उत्तर : वित्तीय शिक्षाको महत्व :-

(क) व्यक्तिलाई कमाउने, बचाउने, खर्च गर्ने, ऋण लिने र लगानी गर्ने जस्ता वित्तीय कारोबारका लागि सक्षम बनाउँछ

(ख) सुखी र सुरक्षित भविष्यका लागि सघाउँछ ।

(ग) आर्थिक स्रोतसाधनको प्रभावकारी एवम् मितव्ययी उपयोग गर्न सक्ने बनाउँछ ।

(घ) बैकिङ सेवाको बारेमा जानकारी दिई धनको सुरक्षा तथा आर्थिक उन्नति कसरी गर्ने भन्ने उचित ज्ञान दिन्छ ।

(ङ) वित्तीय संस्थाको काम, कर्तव्य र अधिकार, निक्षेप सङ्कलन प्रक्रिया, ऋण लिने दिने प्रक्रिया आदिका बारेमा सचेत गराउँछ ।

३. वित्तीय प्रणाली भनेको के हो ? नेपालको वित्तीय प्रणाली सम्बन्धमा चर्चा गर्नुहोस् ।

उत्तर : वित्तीय प्रणाली भनेको बैङ्क, बिमा कम्पनी र स्टक एक्सचेन्ज जस्ता संस्थाहरूको समूह हो जसले आर्थिक वा मुद्राको कारोबार गर्न अनुमति दिन्छ । वित्तीय प्रणालीहरू फर्म, क्षेत्रीय र विश्वव्यापी रूपमा अवस्थित हुन्छन् । यसलाई आर्थिक व्यवस्था पनि भन्न सकिन्छ ।

नेपालमा वित्तीय प्रणालीअन्तर्गत केन्द्रीय बैङ्क, वाणिज्य बैङ्क, विकास बैङ्क, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाहरू सञ्चालित छन् । साथै यसअन्तर्गत बैङ्किङ कारोबार गर्ने बचत तथा ऋण सहकारी संस्था र लघुवित्तको कारोबार गर्ने गैरसरकारी संस्थाहरू पनि कार्यरत छन् । यी आर्थिक वा मुद्राको कारोबार गर्ने सङ्घसंस्थालाई वित्तीय संस्था भनिन्छ । नेपालमा केन्द्रीय बैङ्कका रूपमा नेपाल राष्ट्र बैङ्क रहेको छ । यो बैङ्कहरूको बैक हो र यसले वित्तीय संस्था स्थापना गर्ने अनुमति दिने र मुद्रा निष्काशन गर्ने काम गर्छ । नेपालमा रहेका अन्य वित्तीय संस्थाहरूले निक्षेपका रूपमा बचत सङ्कलन गर्ने, कर्जा प्रदान गर्ने, विदेशी मुद्रा सटही गर्ने जस्ता कारोबार गर्दछन् ।

४. बैङ्कबाट ऋण लिएर कुनै व्यवसाय सञ्चालन गर्दा ध्यान दिनुपर्ने कुराहरूको सूची तयार गर्नुहोस् ।

उत्तर : बैङ्कबाट ऋण लिएर कुनै व्यवसाय सञ्चालन गर्दा ध्यान दिनुपर्ने कुराहरू :-

(क) जुन व्यवसाय सञ्चालन गर्ने हो त्यही कामका लागि मात्र ऋण लिने र प्रयोग गर्ने गर्नुपर्छ ।

(ख) ऋण लिँदा ब्याज तथा जरिवानाका सम्बन्धमा स्पष्ट भएर मात्र लिनुपर्छ ।

(ग) समयमै र पूर्ण रूपमा तपाईंको ऋण भुक्तानी गर्नुहोस् ।

(घ) ऋणको पैसा बुद्धिमानीपूर्वक प्रयोग गर्नुहोस्।

Similar Posts

Leave a Comment