एकाइ- -नौ: हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग

पाठ २ – संयुक्त राष्ट्रसङ्घ

अभ्यास

१. संयुक्त राष्ट्रसङ्घको स्थापना कहिले भएको हो ? 
उत्तर : संयुक्त राष्ट्रसङ्घको स्थापना सन् १९४५ अक्टोवर २४ मा भएको हो ।

२. संयुक्त राष्ट्रसङ्घका हालका महासचिव को र कहाँका हुन् ?
उत्तर : संयुक्त राष्ट्रसङ्घका हालका महासचिव एन्टिरियो गुटेर्रेस हुन् र उनी पोर्चुगलका हुन् ।

३. महासभालाई संयुक्त राष्ट्रसङ्घको संसद् भनिन्छ । यस भनाइलाई पुष्टि गर्नुहोस् ।

उत्तर : संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९ देखि २२ मा महासभासम्बन्धी व्यवस्था गरिएको छ । यसलाई राष्ट्रसङ्घको व्यवस्थापिका पनि मानिन्छ । महासभाको वैठकमा प्रत्येक राष्ट्रले ५ जना प्रतिनिधि पठाउने व्यवस्था छ । मताधिकार भने एक मात्र रहने व्यवस्था छ । महत्वपूर्ण निर्णयहरू दुई तिहाइ र अन्य निर्णय सामान्य बहुमतबाट पारित हने व्यवस्था रहेको छ । प्रत्येक अधिवेशनका लागि एक जना अध्यक्ष र १७ जना उपाध्यक्ष निर्वाचित गर्ने व्यवस्थाँ रहेको छ । महासभाको काम व्यवस्थित गर्न विभिन्न ६ ओटा समिति हुन्छन् । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबारदेखि महासभाको अधिवेशन सुरु भई मध्य डिसेम्बरसम्मै चालु रहन्छ । सदस्यता जारी गर्ने, वार्षिक बजेट पारित गर्ने, महासचिव र न्यायाधीशको नियुक्ति गर्ने लगायतका कार्य यसले गर्दछ । व्यवस्थापिकाले गर्ने कामहरू गर्ने भएकाले यसलाई संयुक्त राष्ट्रसङ्घको संसद् भनिन्छ ।

४. जिम्मा जमानी परिषद हाल सक्रिय छैन । किन ?

उत्तर : जिम्मा जमानी परिषद्ले कुनै राष्ट्रले आफ्नो अधिनमा राखेको प्रदेशका सम्बन्धमा आफ्नो अन्तर्राष्ट्रिय दायित्व पूरा गरे नगरेको निरीक्षण गर्ने कार्य गर्दछ । त्यस्तै यसले अन्य राष्ट्रको उपनिवेशबाट स्वतन्त्र वा स्वतन्त्र राष्ट्रहरू आफैँ शासन चलाउन सक्षम नभएसम्म सहयोग गर्ने कार्यसमेत गर्दछ । हाल यी कार्यहरूको सम्पादन भइसकेको हुँदा यसले कार्य सम्पादन गर्नुपर्दैन । तसर्थ यस संस्था हाल सक्रिय छैन ।

५. सुरक्षा परिषद्‌को भूमिका उल्लेख गर्नुहोस् ।

उत्तर : संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा २३ देखि ५० सम्म सुरक्षा परिषद्‌को व्यवस्था गरिएको छ । यसमा ५ स्थायी र १० अस्थायी सदस्य राष्ट्रहरू रहने व्यवस्था गरिएको छ । यसले हातहतियारको प्रयोगमा नियन्त्रण गर्ने र विवाद समाधानको उपयुक्त प्रयास गर्दछ । त्यस्तै सुरक्षा परिषद्ले समस्याको शान्तिपूर्ण समाधानमा जोड दिँदै शान्ति भङ्ग गर्ने मुलुक विरुद्ध सैनिक तथा गैरसैनिक कदम चाल्ने कार्यसमेत गर्दछ । नयाँ सदस्य राष्ट्रको नियुक्तिका लागि महासभामा सिफारिस गर्ने, महासचिव, अन्तर्राष्ट्रिय न्यायालयको न्यायधीशको नियुक्तिको सिफारिस गर्ने सुरक्षा परिषद्को महत्वपूर्ण कार्य हो । तसर्थ विश्वमा शान्ति कायम गर्नका लागि सुरक्षा परिषद्‌को निष्पक्ष र न्यायोचित भूमिका आवश्यक रहेको छ ।

६. निषेधाधिकार भनेको के हो ? यसको प्रयोग कसले गर्छ ?

उत्तर : संयुक्त राष्ट्रसङ्घका केही शक्तिशाली राष्ट्रले प्राप्त गरेको प्रस्तावित कार्यमा रोक लगाउने अधिकार वा विशेषाधिकारलाई निषेधाधिकार भनिन्छ । यसलाई भिटो पनि भनिन्छ । यसको प्रयोग संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा रहने ५ स्थायी सदस्य राष्ट्रले गर्छन् । यसअन्तर्गत अमेरिका, रुस, चीन, फ्रान्स र बेलायत पर्दछन् ।

Similar Posts

Leave a Comment