एकाइ – सात: हाम्रो विगत

पाठ ६ प्रथम विश्वयुद्ध- कारण र घटनाक्रम

अभ्यास

१. गुटबन्दीले प्रथम विश्वयुद्धलाई कसरी प्रश्रय दियो ? लेख्नुहोस् ।

उत्तर : जर्मनीको एकीकरणपछि जर्मनीमा सन् १८७० मा अटोभान बिस्मार्क चान्सलर नियुक्त भए । उनले जर्मनीको सिमाना विस्तार गर्ने नीति लिएका थिए । यसकै परिणाम स्वरूप जर्मनीले सन् १८७१ मा फ्रान्समाथि आक्रमण गरी दुई महत्त्वपूर्ण प्रान्तहरू अल्सेस र लोरेन कब्जा गर्यो । बिस्मार्कले फ्रान्सलाई एक्लो बनाउने र शक्तिविहीन बनाउने नीतिअनुरूप सन् १८७९ मा अस्ट्रिया र हंगेरी तथा सन् १८८२ मा इटालीसँग गोप्य सम्झौता गरे । बिस्मार्कको पतनपछि फ्रान्सले पनि जर्मनी विरुद्ध खेल्ने अवसर पायो । फ्रान्सले सन् १८९४ मा रुससँग र सन् १९०४ मा बेलायतसँग गोप्य सन्धि गयो । यसप्रकार युरोपका राष्ट्रहरू कुनै न कुनै रूपमा परस्पर प्रतिस्पर्धी दुई गुटमा विभाजित भए । यो गुटबन्दीले प्रथम विश्वयुद्धको कारण बन्यो ।

२. उग्रराष्ट्रवादलाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।

उत्तर : कुनै पनि राष्ट्रको समुन्नति तथा प्रगतिका लागि राष्ट्रवादको भावना आवश्यक हुन्छ । यसले व्यक्तिको राष्ट्रप्रतिको कर्तव्य बोध गराउँछ । व्यक्तिको आत्मसम्मान र गौरवका लागि पनि यो आवश्यक हुन्छ । यसै कुरालाई व्यक्तिको स्वार्थका लागि प्रयोग गरिएमा त्यसले हानि गर्दछ । यसले गर्दा व्यक्तिमा आफ्नो राष्ट्र र नागरिकहरू मात्र विश्व हो, अरू केही पनि होइन भन्ने भावनाको विकास हुन्छ । अरू राष्ट्रको अस्तित्व स्वीकार नगर्ने र हामी नै मात्र हाँ भन्ने अहम् भावनाको विकास हुन्छ । यसलाई उग्रराष्ट्रवादका रूपमा लिइन्छ । युरोपमा खास गरी जर्मनी र इटालीको एकीकरणपछि त्यहाँ राष्ट्रवाद चरम विन्दुमा पुगेको थियो । उनीहरूमा अन्य राष्ट्रको अस्तित्व स्वीकार नगर्ने र हामी मात्र हौं भन्ने अहम् भावनाले प्रश्रय पाएको थियो ।

३. साम्राज्यवाद र उपनिवेशवादमा के भिन्नता छ ? उदाहरणसहित लेख्नुहोस् ।

उत्तर : ससाना कमजोर देश वा राज्यहरूलाई शक्तिद्वारा वशमा पारेर राज्यको विस्तार गर्ने वा साम्राज्य खडा गर्ने सिद्धान्त सामाज्यवाद हो । उपनिवेश बनाउने वा कायम गर्ने सिद्धान्त उपनिवेशवाद हो यसमा शक्तिशाली देशले साम्राज्यको विस्तारका क्रममा आफूअन्तर्गत लिएर अधिकारबाट वञ्चित गरेर आधिपत्य जमाउने गरिन्छ । औद्योगिक क्रान्तिपछि युरोपेली राष्ट्रहरू बेलायत, फ्रान्स, जर्मनी, इटाली र रुसले साम्राज्यवादी र उपनिवेशवादी नीति लिएका थिए ।

४. प्रथम विश्वयुद्धको तत्कालीन कारण के थियो ? लेख्नुहोस् ।

उत्तर : अस्ट्रिया हङ्गेरीका राजकुमार र उनकी पत्नी बोस्नियाको राजधानी साराजेभोको भ्रमणमा गएका वेला ब्ल्याक ह्यान्ड सोसाइटीका सदस्य रहेका एक युवकले गोली हानी हत्या गरे । यस घटनामा जर्मनीको इसारामा अस्ट्रिया हङ्गेरीले उक्त सोसाइटीलाई प्रतिबन्ध लगाई दमन गर्न र त्यसको अनुगमन आफूले गर्न पाउनु पर्ने माग राखेर अठचालिस घण्टे चेतावनी पठायो । ब्ल्याक ह्यान्ड सोसाइटीलाई प्रतिबन्ध लगाउने र कारबाही गर्ने कुरामा सर्बिया सहमत भए पनि अस्ट्रियालाई निगरानी गर्न दिन नसकिने सर्बियाको जबाफपछि दुई देशबिच तनाव सिर्जना भयो । अस्ट्रिया हङ्गेरीले सन् १९१४ जुलाई २८ मा सर्बियामाथि आक्रमण गरेपछि यही घटनाबाट प्रथम विश्वयुद्धको प्रारम्भ भयो ।

Similar Posts

Leave a Comment