एकाइ- -नौ

पाठ:-५ जनसङ्ख्या व्यवस्थापन

१. जनसङ्ख्या व्यवस्थापन भनेको के हो, यसको महत्त्व आफ्नै शब्दमा वर्णन गर्नुहोस् ।

उत्तरः
राज्यको श्रोत साधन प्राकृतिक अवस्था, पृथ्वीको बहन गर्ने क्षमता, साधन स्रोतको उपयोगिता, राज्यको जनसांख्यिक आवश्यकता अनुसार जनसंख्याको वितरणलाई व्यवस्थित बनाउने पद्धति लाई जनसंख्या व्यवस्थापन भनिन्छ । जनसंख्या व्यवस्थापनमा राज्यको आवश्यकता अनुसार आवश्यक पर्ने जनसंख्याको आकार कायम गर्न घटि वा बढि को नीति निर्धारण गरिन्छ । जनताको Quality of life बृद्धि गर्न जनसंख्या व्यवस्थापन गरिन्छ ।
जनसङ्ख्या व्यवस्थापनको महत्त्व निम्नानुसारका छन्:
• लैङ्गिक असमानता हटाउन,
• साधनश्रोत, अवसर र जनसंख्या बिचको त्रिपक्षिय सम्बन्धलाई प्रगाढ बनाउन,
• जनसन्ख्या र वातावरण बिच सन्तुलन ल्याउन,
• उच्च वृद्दिदर घटाउन,
• न्यून वृद्दिदर बढाउन,
• उच्च बाल आस्रित अनुपात घटाउन,
• उच्च मात्री एवम शिशु मृत्युदर रोक्न,
• बढ्दो बेरोजगारि समस्या निराकरण गर्न,
• जनसंख्याको वितरणमा विध्यमान असमानता हटाउन,
• दिगो आर्थिक र सामाजिक समृद्धि हाशिल गर्न, आदि ।

२. जन्म विरुद्धको नीति र जन्म पक्षको नीतिबिच फरक छुट्याउनुहोस् ।

उत्तर:
 जन्म विरुद्धको नीति र जन्म पक्षको नीतिबिच फरकहरु यसप्रकार रहेका छन्:

(क)  जन्म विरुद्धको नीति:
प्रजननदरलाई नियन्त्रणगरि जनसङ्ख्या घटाउने नीतिलाई जन्म विरुद्धका नीति भनिन्छ । जनसङ्ख्या बढी भएका देशहरूले जनसङ्ख्याको आकार र वृद्धि लाई घटाउनका लागि लागु गरिने उपाय हो । यस अन्तरगत परिवार नियोजन कार्यक्रम विस्तार गर्ने, कम सन्तान जन्माउने दम्पतिका सन्तानलाई विशेष सरकारी सुविधा उपलब्ध गराउने, बढी सन्तान जन्माउने दम्पत्तिलाई सरकारी सेवा सुविधा कटौति गर्ने, लैगिक भेदभावलाई हटाई महिला शिक्षा र सशक्तिकरणमा जोड दिने, गर्वपतनलाई कानुनी मान्यता दिने जस्ता निति तथा कार्यक्रमहरू अपनाउने गरेको पाईन्छ।

(ख)  जन्म पक्षको नीति:
शिशुहरूको जन्मदरमा बृद्धि गरेर जनसङ्ख्या बढाउने उद्देश्यले तर्जुमा गरिएका नीतिलाई जन्मपक्षीय नीति भनिन्छ । कुनै पनि देशमा आवश्यकता भन्दा कम जनसङ्ख्या छ, जन्मदर ऋणात्मक छ, जनसक्तिको तुलनामा साधन र स्रोतको मात्रा अत्याधिक छ भने यो नीति लागु गरिन्छ। यस नीति अन्तरगत बढी सन्तान जन्माउने दम्पतिलाई विशेष सरकारी सुविधा उपलब्ध गराउने, बाल-बालबलिकाको स्वास्थ्य तथा शिक्षामा सरकारी लगानी बृद्धि गर्ने, चाडो विवाह र पुन: विवाहलाई प्रोत्साहन गर्ने, अवैधानिक शिशुको राज्यले संरक्षण गर्ने आदि कार्यक्रमहरू पर्दछन् ।

३. संयुक्त परिवारको संरचना र उच्च शिशु मृत्युदरले कसरी जनसङ्ख्या वृद्धिदर बढाउँछ, उल्लेख गर्नुहोस् ।

उत्तरः
संयुक्त परिवारको संरचना जनसङ्ख्या वृद्धिको एक कारण मानिएको छ । किनभने कुनै परिवारमा जन्मेको बच्चाको अभिभारा संयुक्त रूपमा परिवारमा बाँडिन्छ। परिवारको ढाँचाले पनि जनसङ्ख्या वृद्धिमा भूमिका खेल्दछ । संयुक्त परिवारमा बस्ने मानिसको धारणा सन्तान धेरै भएमा जुनसुकै काम गर्न पनि सहज हुन्छ भन्ने रहेको पाईन्छ । संयुक्त परिवारमा बालवच्चाको हेरचाह गर्ने र पालन पोषण गर्ने गहन जिम्मेवारी आमाबाबुको काँधमा मात्र नपर्ने भएकाले दम्पत्तिहरूले असहज महशुश गर्न पाउँदैनन् । साथै जति सन्तान जन्मिए पनि आर्थिक बोझ एक्लैलाई नपर्ने भएकोले धेरै सन्तान जन्माउछन र जनसङ्ख्या वृद्धि हुन पुग्छ ।

मानिसले सन्तान धेरै जन्माउनु पछाडि शिशु मृत्युदर उच्च रहनु पनि हो । किनभने जति धेरै शिशु मर्दछन्, त्यति धेरै जन्मिएका शिशु सबै परिपक्क हुने सम्भावनाको कमी रहन्छ । अज्ञानता, अशिक्षा, अन्धविश्वास, स्वास्थ्य सुविधामा आमनागरिकको पहुँचको कमीले गर्दा कालमै धेरै शिशुहरूको मृत्यु भइरहेको छ उच्च शिशु मृत्युदरले जन्मदर बढाउँछ । किनभने बाबुआमाहरू आफूले जन्माएका सन्तान कति बाँच्छन् भन्ने कुरामा ढुक्कसँग विश्वस्त हुन नसकेका कारण केहि मरे पनि केहि त बाँच्छन् भन्ने आशामा धेरै सन्तान जन्माउँछन यसकारण जनसङ्ख्या वृद्धि हुन जान्छ । उक्त शिशु मृत्युदरमा कमी ल्याउन बालस्वास्थ्य सुधारमा ध्यान दिनु अति आवश्यक देखिन आउँछ। स्वास्थ्य सेवामा वृद्धि हुनाले शिशु मृत्युदर कम हुन्छ ।यसो भएमा दम्पतीहरू बढी बच्चा जन्माउन प्रेरित हुँदैनन् । स्वास्थ्य सुविधाको वृद्धिले जन्मदर वृद्धि स्वतः नियन्त्रण हुन्छ ।

अतः जनसङ्ख्या वृद्धिबाट उत्पन्न हुने समस्याबाट परिचित हुन र जनसङ्ख्या वृद्धिको तीव्र गतिलाई रोक्न जनसङ्ख्या शिक्षाको प्रचारप्रसार गराउन आवश्यक छ । जनसङ्ख्यासम्बन्धी शिक्षालाई प्राथमिक तहको पाठ्यक्रमदेखि नै समावेश गरिनुको साथै देशभरि मातृशिशु स्वास्थ्यशिक्षा, प्रजनशिक्षा, यौनशिक्षालगायत जनसङ्ख्या शिक्षाको व्यापक प्रचार-प्रसार गरेर सानो परिवार सुखी परिवारसम्बन्धी धारणाको विकास गराउन सकिएमा जनसङ्ख्या वृद्धि नियन्त्रण गराउन सकिन्छ ।

४. जनसङ्ख्यामा तीव्र वृद्धिका कारण शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा पर्ने असरहरू उल्लेख गर्नुहोस् ।

उत्तरः
सामान्य अर्थमा मानिसहरूको सङ्ख्या बढ्नुलाई जनसङ्ख्या वृद्धि भनिन्छ भने तीव्रं जनसङ्ख्या वृद्धि हुनु भनेको मानिसहरूको सङ्ख्या धेरै मात्रमा बढ्नु हो । प्राकृतिक स्रोत साधनको तुलनामा जनसङ्ख्या बढी हुँदा हरेक क्षेत्रमा नराम्रो असर पर्दछ । मानिसको गुणस्तरीय जीवनका साथै देशको आर्थिक, सामाजिक विकास तथा वातावरणीय क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने भएकोले तीव्र जनसङ्ख्या वृद्धिलाई जुनसुकै क्षेत्रमा पनि समस्याको रूपमा लिने गरिन्छ । सीमित स्रोत साधनबाट बढ्दो जनसङ्ख्याको आवश्यकता पुरा गर्न गाहो हुने भएकोले यसले देशको मूलतः शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा प्रतिकूल असर पर्न जान्छ ।

स्वास्थ्य सेवा तथा सुविधामा पर्ने असरः
जन्मपछि मानिस स्वस्थ भएर बाँच्न पाउनु मानिसको नैसर्गिक अधिकार हो । स्वस्थ हुनु भनेको कुनै व्यक्ति शारीरिक तथा मानसिक तथा सामाजिक रूपमा पूर्ण रूपमा तन्दुरुस्त रहनु हो । स्वस्थ र दक्ष जनशक्ति राष्ट्रका अमुल्य सम्पतिहुन । देशको आर्थिक, सामाजिक विकास गर्न उपलब्ध प्राकृतिक स्रोत साधनको परिचालन गरी राष्ट्रलाई विकासको गतिमा अघि बढाउनस्वस्थ र दक्ष जनशक्तिको महत्वपूर्ण रहन्छ । जनसङ्ख्या वृद्धि र स्वास्थ्य सेवा सुविधाविचमा घनिष्ठ सम्बन्ध रहेको हुन्छ । बढ्दो मानिसको स्वास्थ् आवश्यकतालाई उपलब्ध सिमित स्वस्थ्य सेवा बाट पुरा गर्न कठिन हुन्छ जसले गर्दा मृत्युदर बढन जान्छ । हाम्रो देशमा जनसङ्ख्याको तुलनामा धेरै नै कम मात्रामा स्वास्थ्य सेवा उपलब्ध रहेको छ । यस सन्दर्भमा ग्रामिण क्षेत्र र सहरी क्षेत्रलाई तुलना गरेर हेर्ने हो भने ग्रामिण क्षेत्रमा स्वास्थ्य सुविधा कम मात्रमा उपलब्ध भएकोले सामान्य रोग जस्तै हैजा, झाडापखला जस्ता रोग बाट पनि मनिसको ज्यान जाने गरेको छ । त्यसै गरी सहरी क्षेत्रलाई ग्रामिण क्षेत्रको तुलनामा केहि सहज सेवा उपलब्ध भएपनि बढदो जनसङ्ख्याको मागलाई पुरा गर्न सकेको देखिदैन । यसर्थ अस्पताल स्वास्थ चौकी, अस्पतालको शैया स्वास्थ्य सेवा दिने प्राविधिक आदिकासङ्ख्या बढेको जस्तो देखिएतापनि तीव्र जनसङ्ख्या वृद्धिको कारण अधारभुत स्वास्थ सेवा सम्पूर्ण जनतालाई पुर्याउन सकिएको छैन ।

शिक्षामा पर्ने असरः
शिक्षा चेतनाको आधार हो । शिक्षाले मानिसलाई ज्ञान प्रदान गरी सक्षम नागरिक बनाउने कार्य गर्दछ । जनसंख्या वृद्धि उच्च भएमा सवैलाई शिक्षाको अवसर प्रदान गर्न कठिन हुन्छ । जनसङ्ख्या बढे पछि विद्यालय जाने उमेरकावालवालिकाहरूको सङ्ख्यामा उल्लेख्य मात्रामा वृद्धि हुन गई विद्यालयमा अतिरिक्त चाप बढ्न जान्छ । कक्षाकोठाका साथै भौतिक सामाग्री र शैक्षिक सामाग्रीहरूको अभाव हुन जान्छ । त्यतिमात्र नभई बढ्दो विद्यार्थी सङ्ख्याका कारण थोरै शिक्षकले धेरै विद्यार्थीहरूलाई पढाउनु पर्ने हुन्छ । जसले गर्दा शिक्षाको गुणस्तरमा ह्रास आउँछ । विसं २०६८ को जनगणनाअनुसार साक्षरता दर ६५.९ प्रतिशत रहेको छ भने पुरुषको साक्षरता दर ७५.१ प्रतिशत र महिलाको साक्षरता प्रतिशत ५७.४ प्रतिशत रहेको छ ।

रोजगारीमा पर्ने असरः
जीवन चलाउनका लागि मानिसले गर्ने कामलाई रोजगारी भनिन्छ । रोजगारबाट मानिसले आम्दानी गर्दछ । जनसङ्ख्या वृद्धिका कारण रोजगारीका अवसरहरू सिर्जनामा समस्या हुन्छ । रोजगारका अवसरका लागि उद्योग, व्यापार, विकासका पूर्वाधारहरूको निर्माण आदि क्षेत्रहरूमा पैसा लगानी गर्नुपर्ने हुन्छ तर तीव्र जनसङ्ख्या वृद्धि भएको अवस्थामा बढेको जनसङ्ख्यालाई पालन पोषण गर्नमा नै धेरै पैसा खर्च गर्नुपर्ने भएकाले रोजगारका अवसरहरू सिर्जना गर्न सकिदैन । फलस्वरूप बेरोजगार जनसङ्ख्याको मात्रा बढ्न गई आर्थिक, सामाजिक समस्याहरू देखा पर्दछन् ।

५. हाम्रो देशमा विद्यमान जनसङ्ख्या व्यवस्थापनका चुनौतीहरू उल्लेख गर्दै आफ्नो साथीलाई चिठी लेख्नुहोस् ।

तारकेश्वर-५, काठमण्डौं
मिती: २०८0|४|३२


प्रिय मित्र साहिल,
मीठो सम्झना !

म यहाँ आजको मितिसम्म सकुशल छु र त्यहाँ तिम्रो पनि कुशलताको कामना गर्दछु । मैले तिमीले पठाएको पत्र भर्खर पाएँ र पत्र लेख्दै छु। निकै पछि पत्र पठायौ तैपनि साथीको माया मारेका रहेनछौं, खुसी लाग्यो। हाम्रो देशमा विद्यमान जनसङ्ख्या व्यवस्थापनका चुनौतीहरूको विषयका सम्बन्धमा जानकारी मागेका रहेछौ। मैले जाने बुझे जतिको र अध्ययनका आधारमा केही जानकारी तिमीलाई दिँदै छु।

प्राकृतिक स्रोत साधनको तुलनामा जनसङ्ख्या बढी हुँदा हरेक क्षेत्रमा नराम्रो असर पर्दछ । मानिसको गुणस्तरीय जीवनका साथै देशको आर्थिक, सामाजिक विकास तथा वातावरणीय क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने भएकोले तीव्र जनसङ्ख्या वृद्धिलाई जुनसुकै क्षेत्रमा पनि समस्याको रूपमा लिने गरिन्छ । सीमित स्रोत साधनबाट बढ्दो जनसङ्ख्याको आवश्यकता पुरा गर्न गाह्रो हुने भएकोले यसले देशको आर्थिक सामाजिक तथा वातावारण क्षेत्रका साथै हरेक क्षेत्रका सकरात्मकभन्दा नकरात्मक असरहरू बढी देखा पर्दछन् । त्यसैले हामीले यी समस्याको समाधानका उपायहरु जान्नु पर्ने हुन्छ। तिमीले राखेको जिज्ञासा ‘हाम्रो देशमा विद्यमान जनसङ्ख्या व्यवस्थापनका चुनौतीहरू’ यी समस्याको समाधानका लागि जान्नु पर्ने निकै महत्तोपूर्ण विषय हो । गरिवी, अशिक्षा, अज्ञानता, धार्मिक अन्धानुकरण, अदुरदर्शी, अस्थिर तथा अव्यवहारिक नीति लगायतका कारणहरुले गर्दा नेपालको जनसंख्या व्यवस्थापनमा देहायका चुनौतिहरु देख्न सकिन्छः

• बढ्दै गइरहेको अदक्ष र अर्धदक्ष जनसंख्यालाई गुणस्तरीय खानपान, शिक्षा तथा रोजगार उपलब्ध गराउनु,
• शहरी क्षेत्रमा कुल प्रजनन दरमा कमी आएतापनि दुरदराजका ग्रामिण क्षेत्रमा यस्तो दर अझपनि उच्च रहनु,
• अझपनि कतिपय स्थान विशेषमा बाल विवाह संस्कृतिकै रुपमा झाँगिएर रहनु, जस्तोकी १४ वर्षमूनिको उमेरमा पहिलो विवाह गर्नेहरु ११.५% छन् ।
• ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा तथा परिवार नियोजनका साधनहरु सहज रुपमा उपलब्ध गराउनु,
• तिब्र रुपमा बढ्दै गैरहेको आन्तरिक तथा बाह्य बसाइसराईलाई व्यवस्थित गर्नु,
• छरिएर रहेका महिला विकास, उत्थान तथा सशक्तीकरणका कार्यक्रमहरुलाई एकीकृत गर्दे तिनलाई नतिजामूखी र प्रभावकारी तुल्याउनु, – Muscle Drain / Brain Drain लाई रोकी स्वदेशमै तिनको समूचित परिचालन गर्नु
• समाजमा सदियौंदेखी जरा गाढेर बसेको धार्मिक अन्धानुकरणको जालो तोड्नु (जस्तै छोराको अनिवार्यता),
• मानिसहरुको सहरी क्षेत्रतर्फको आकर्षण र राज्यको अदुरदर्शी, अस्पष्ट नीतिले गर्दा शहरीकरण अव्यवस्थित हुँदै हुनु, जस्तै: Urban Poverty, lack of basic needs,
• मुलुकबाट Muscle Drain / Brain Drain भैरहेको – पृष्ठभूमिमा Population Dividend अर्थात् जनसांख्यिक लाभांसलाई मुलुकको समृद्धि र विकासमा उपयोग गर्नु,
• बढ्दै गैरहेको Old age population (8.13%) को समुचित व्यवस्थापन गर्नु,
• जनसंख्या व्यवस्थापनका विविध पक्षहरुलाई दिगो विकासका लक्षहरुसँग Tie-Up गर्नु,
• तीनै तहका सरकारहरुमा जनसंख्या व्यवस्थापनका समग्र आयामहरुलाई आन्तरिकीकरण गर्नु आदि ।

अतः माथि उल्लेखित चुनौतिहरुलाई अवसरमा बदल्न सरकारको दुरदर्शिता र तहगत सहकारिता, नागरिक समाजको सक्रिय सहभागिता र आवश्यकतामा आधारित सहायताको खाँचो देखिन्छ । यद्यपी पछिल्लो समयको राजनीतिक स्थिरता, बढ्दो जनचेतना र सहरीकरण, राष्ट्रिय जनसंख्या नीति, 2071 को तर्जुमा र कार्यान्वयन, सहभागितामूलक विकासको ढोत्तरी र दिगो विकासका लक्ष प्राप्ती तर्फ राज्यले लिएको अग्रसरता लगायतका कारणहरुले गर्दा नेपालको जनसंख्या व्यवस्थापन अब सहज र प्रभावकारी हुने कुरामा आशावादी रहन सकिन्छ । प्रसिद्ध आइरिस साहित्यकार ओस्कार आइल्डले कुनै बेला भनेका थिए, “We are all in the gutter, but some of us are looking at the stars” अर्थात् दुर्गन्ध नालामा उभिएर भएपनि हामी पनि दूर क्षितिजको चम्किलो तारा हेर्ने साहस गरौं । पत्र लामो हुन थाल्यो त्यसैले यती भन्दै कलम बन्द गर्छु। म तिम्रो पत्रको प्रतिक्षामा छु ।

उही तिम्रो आत्मीय साथी,
बद्री प्रसाद कोइराला

Similar Posts

Leave a Comment