एकाई: ११

पाठ:-४ किशोरावस्था र स्वास्थ्य जीवनशैली

१. किशोरावस्थाको परिचय दिनुहोस् ।

उत्तरः
शारीरिक विकासका विभिन्न चरणहरूमध्ये किशोर अवस्था एउटा महत्त्वपूर्ण चरण हो । १० देखि १९ वर्ष सम्मको उमेर समूहलाई किशोर अवस्था भनिन्छ । साधारण शब्दमा भन्ने हो भने, बाल्य अवस्था र युवा अवस्था बिचको उमेरलाई किशोर अवस्था भनिन्छ । यस अवस्थामा केटा र केटी दुवैमा शारीरिक परिवर्तन देखापर्नुका साथसाथै मानसिक स्थितिमा समेत परिवर्तन आउँछ । यसै बेलादेखि केटा र केटीमा यौवनको सुरुवात हुन्छ । यो उमेरमा अरुको देखासिकी गर्न मन पराउनुका साथै व्यक्ति विपरीत लिङ्गीप्रति आकर्षित हुन थाल्दछ।
किशोरावस्था किशोरकिशोरीहरूमा तीव्र रूपमा शारीरिक तथा मानसिक परिवर्तन हुने अवस्था हो । यो उमेरमा हुने शारीरिक तथा मानसिक परिवर्तनले उनीहरूका सोचाइ, आशा, आकाङ्क्षा जस्ता कुराहरू समाज र परिवारले तोकेको वा मान्दै आएको विश्वास तथा मान्यताहरू भन्दा फरक हुन सक्छन् । जसले गर्दा किशोरकिशोरीले आफूलाई असहज र अप्ठ्यारो स्थितिमा भएको महसुस गर्न सक्छन् । यो बेला उनीहरूलाई आफूमा आएको परिवर्तनलाई सजिलै आत्मासात् गर्न सक्ने बनाउनका लागि उचित ज्ञान दिनु आवश्यक हुन्छ । यस्तो स्थितिमा उचित वातावरण (शिक्षा, सूचना तथा परामर्श आदि) को अभाव हुन दिनु हुँदैन । उचित वातावरण सिर्जना गरी किशोरकिशोरीलाई परिवर्तनको क्रममा हुने विभिन्न उतारचढावहरूलाई व्यवस्थापन गर्न सक्ने बनाउनु पर्दछ। किशोरावस्था र यसमा हुने शारीरिक, संवेगात्मक र सामाजिक परिवर्तनहरू प्राकृतिक हुन् भनी बुझाउनुका साथै किशोरावस्थामा हुने परिवर्तनहरू जस्तैः यौन अङ्गको विकास हुने, हस्तमैथुन गर्ने बानी बस्ने, स्वप्नदोष हुने र महिनावारी हुने जस्ता परिवर्तनका प्रचलित धारणाहरूबारे जानकारी गराईरख्नु पर्दछ ।

२. किशोरावस्था जीवनको महत्वपूर्ण अवस्था हो, किन ?

उत्तरः
किशोर अवस्था भनेको एउटा व्यक्तिको जीवनको त्यो समयावधि हो जतिबेला ऊ बालक त रहदैन, तर युवा पनि भैसकेको हुदैन । विश्व स्वास्थ्य संगठनले १० देखि १९ वर्षको उमेर समूहको व्यक्तिलाई किशोरकिशोरी भनेको छ ।
किशोरावस्था जीवनको महत्वपूर्ण अवस्था हो। यस बेला व्यक्ति विभिन्न शारीरिक तथा मानसिक परिवर्तनहरुबाट गुज्रिन्छ यस अवस्थामा किशोर किशोरीहरुले आफ्नो शरीरमा आउने थुप्रै परिवर्तनहरु र मनमा आउने भावनाहरुको सामना गर्नुपर्ने हुन्छ । यस बेला किशोर किशोरीहरुमा आफ्नो परिवार र साथी संगीहरुसंगको भावनात्मक तथा संवेगात्मक सम्बन्धमा परिवर्तन आउँछ। उसले सामाजिक अपेक्षाहरु र आफूप्रतिको हेराइमा परिवर्तन आएको अनुभूति गर्छ । उसको शारीरिक विकास हुँदा यौनिक आकर्षण बढ्दै जाने र परिपक्वता आउने हुन्छ ।
किशोरावस्थामा किशोरकिशोरीहरु कुनै पनि कुरामा गहन ढंगले सोच्न सिकिरहेका हुन्छन्, जसको आधारमा उनीहरु भविष्यका लागि योजना निर्माण गर्न खोज्दछन् । किशोरावस्थामा आफूलाई मन लाग्ने कुरामा परीक्षण गर्ने, जोखिम वा खतरा मोल्ने जस्ता कार्यहरु गर्नु सामान्य हुन् र यस्ता कार्यहरु सही निर्णय गर्न सक्ने सीप विकास गर्ने प्रक्रियाको एउटा पाटो पनि हो ।
किशोरावस्थामा साथीभाइहरु र जेठाबाठाहरुले गरेका व्यवहारको सकारात्मक तथा नकारात्मक दुवै असर पर्दछ । वयस्क मानिसहरुले यस्ता कुरामा ध्यान पुयाई मुख्यतया खराब व्यवहार नकारात्मक सोचाई गनाले पर्न सक्ने असरहरुको बारेमा छलफल गरी सही विकल्प छान्ने काममा किशोरकिशोरीहरुलाई सहयोग गर्नुपर्दछ । कम्तिमा पनि परिवार तथा समाजका वयस्क व्यक्तिको एउटा मात्र सकारात्मक सहयोग तथा अभिभावकको प्रभाव किशोरावस्थाको वृद्धि विकास र परिवर्तनलाई आत्मसात गराउन सहयोगी भई आइपर्ने तनावसँग जुध्न, धैर्यता राख्न तथा प्रफुल रहन सघाउ पुग्दछ ।

३. किशोरावस्थाका मुख्य चुनौतीहरुको सूची तयार पार्नुहोस् ।

उत्तरः
किशोर किशोरीहरूले धेरै चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ । यो उमेर उनीहरूको पहिचान खोज्ने उमेर हो। एकातिर उनीहरूलाई आफ्नो काम, व्यवहार र व्यक्तित्वले आफ्ना साथी समूहमा स्थापित हुनुपर्ने छ भने अर्कोतिर आफ्ना स्वप्निल सपनाको दुनियामा हराउने हुँदा उनीहरूको महत्त्वकाङ्क्षा वा सपना पूरा नहुन सक्ने अवस्था हुन्छ । संसार जित्ने कल्पनामा रमाउने यस उमेरका किशोर किशोरीको कल्पनाशीलताको जहाजलाई कसरी सफल अवतरण गराउने त्यो अर्को चुनौतीका रूपमा रहेको हुन्छ । उनीहरूको कल्पनाशक्तिलाई सिर्जनशीलतातर्फ जोड्न सके मा उनीहरू भोलि सफल सर्जक बन्न सक्छन् । यो उमेरलाई आंधी र तुफानको उमेरका रूपमा लिइने कारण यस अवस्थाका किशोरकिशोरीहरू हतास र निराश हुन्छन् ।

किशोरावस्थाका मुख्य चुनौतीहरु यसप्रकार रहेका छन्ः
• अत्यधिक रूपमा मानसिक र शारीरिक परिवर्तन,
• काम गराइमा हडबडाउने,
• अभिभावकका विचार र काम गराइमा विमति जनाउने
• चाडै रिसाउने र खुसी हुने,
• हर्मोनमा हुने परिवर्तन र मनोवैज्ञानिक दबाब,
• बढ्दो साथी सङ्गत र घुलमिलले अपराध र दुर्व्यसनतर्फ प्रभुत्व हुने ।

४. किशोरकिशोरीहरूले स्वस्थ जीवनशैली अपनाउन किन जरुरी छ कारणहरू उल्लेख गर्नुहोस् ।

उत्तरः
किशोर अवस्था भनेको एउटा व्यक्तिको जीवनको त्यो समयावधि हो जतिबेला ऊ बालक त रहदैन, तर युवा पनि भैसकेको हुदैन । विश्व स्वास्थ्य संगठनले १० देखि १९ वर्षको उमेर समूहको व्यक्तिलाई किशोरकिशोरी भनेको छ । किशोर अवस्थामा किशोरकिशोरीहरूले स्वस्थ जीवनशैली अपनाउनु पर्ने हुन्छ ।

किशोरावस्था मानिसको जीवनको महत्वपूर्ण अवस्था हो । यो अवस्थामा उनीहरुले प्राप्त गर्ने माया, सहयोग, संस्कार, शिक्षा आदिले उनीहरुको भविष्यको आधार तय गर्दछ। राम्रो वातावरण पाएमा उनीहरु असल, सफल र सुसंस्कृत मानिस बन्न सक्छन्। अनुकूल वातावरणको अभावमा उनीहरु असफल र अपराधी पनि बन्न सक्छन्। त्यसैले हामीले किशोर किशोरीको मनोविज्ञान कति बुझ्ने गरेका छौं र उनीहरुको अवस्थालाई कति महत्वले हेरेका छौं? भन्ने प्रश्न महत्वपूर्ण छ। उनीहरुको हुर्काइमा विभिन्न विषयले प्रभाव पारिरहेको हुन्छ। पारिवारिक वातावरण, विद्यालय, साथी, समाज आदिका माध्यमबाट उनीहरुले जीवनका चौतर्फी ज्ञानहरु सिक्ने अवसर प्राप्त गर्दछन् । यही क्रममा उनीहरुले जीवनको बाटो छान्छन्। अवस्थामा ध्यान पुगेन भने उनीहरु राष्ट्र निर्माता नबनेर राष्ट्रका ध्वंशकर्ता पनि बन्न सक्छन्।
किशोरावस्था जीवनको एउटा आकर्षक र सम्भवतः सबैभन्दा विषम अवस्था पनि हो । यस बेला किशोरकिशोरीहरुले नयाँ जिम्मेवारी र आत्मनिर्भरताको प्रयोग परीक्षण गर्ने गर्दछन् । उनीहरु आफ्नो अस्तित्व खोज्दछन्, सानो बच्चाको बेलामा थाहा पाएका मूल्य मान्यताहरु प्रयोग गर्न सिक्दछन् । एउटा कृपालु, मानवीय, दयालु तथा उत्तरदायी वयस्क हुन सहयोग गर्ने सीप विकास गर्दछन् । यदि किशोरकिशोरीहरुलाई मानवीय भावनाले वयस्कहरुद्वारा सहयोग र प्रोत्साहित गरियो भने उनीहरुले अप्रत्यासित ढंगले प्रगति गर्न सक्छन । उनीहरु स्रोतहरुले भरिपूर्ण हुन्छन् साथै परिवार र समाजका लागि योगदान गर्न सक्दछन् । ऊर्जा, जिज्ञासा तथा उत्साहले भरिपूर्ण किशोरकिशोरीले समाजमा रहेका नकारात्मक व्यवहारहरु परिवर्तन गर्ने र एक पुस्ताबाट अर्को पुस्तामा स्थानान्तरण हुँदै आएको हिंसा तथा भेदभावको श्रृङ्खलालाई समाप्त गर्ने क्षमता राख्दछन् । सिर्जनशीलता, असीमित ऊर्जा र उत्साहको कारण किशोरकिशोरीहरुले यस समाजलाई नै आश्चर्य चकित ढंगले परिवर्तन गर्नुका साथै संसारलाई उनीहरुका लागि मात्र नभई सम्पूर्णका लागि एउटा योग्य स्थान बनाउन सक्दछन् ।

Similar Posts

One Comment

Leave a Comment