एकाइ–दस

पाठ:-३ विप्रेषण र नेपाली अर्थतन्त्र

१.नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्त्वपूर्ण भूमिका रहेको छ । विप्रेषण रकम नभए नेपालको आर्थिक अवस्था कस्तो हुन्थ्यो होला, आफ्ना तर्कहरू दिनुहोस् ।

उत्तरः विप्रेषण नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधारको रूपमा रहेको छ। बाह्य क्षेत्र सन्तुलन कायम गर्नको लागि मात्र नभई, शिक्षा, स्वास्थ्य, गरिबी निवारण, वित्तीय साधन परिचालन र राष्ट्रिय पुँजी निर्माणमा समेत विप्रेषण आयले महत्त्वपूर्ण योगदान पुराएको छ । नेपालमा ठुलो परिमाणमा विप्रेषण आप्रवाह हुने हुँदा त्यसको उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न राष्ट्रिय तथा प्रादेशिक महत्त्वका योजनामा विप्रेषण आप्रवाहको परिचालन गर्ने विश्वासिलो संयन्त्र निर्माण गरिनु पर्दछ । विदेशबाट नेपालमा विप्रेषण पठाउँदा उच्च लागत लाग्ने हुँदा यस तर्फ सरकारले विशेष प्याकेज बनाएर न्यून लागतमा औपचारिक माध्यमबाट विप्रेषण प्राप्त गर्ने व्यवस्था गरिनु पर्दछ ।

विप्रेषण रकम नभए नेपालको आर्थिक अवस्था यसप्रकारको हुने अनुमान गर्न सकिन्छः
• मुलुकको कुल ग्राहस्थ उत्पादनको वृद्धि देखि रोजगारी सिर्जना गर्नमा समस्या देखिने,
• अर्थतन्त्रको बाह्य क्षेत्रको सन्तुलनमा समस्या हुनका साथै विदेशी विनिमय सञ्चिती घट्न जाने,
• विदेशमा रोजगारी गुमाएका युवाहरू नेपाल फर्कने क्रम सुरु भएसँगै आन्तरिक श्रमवजारमा बेरोजगारीको चाप पर्न थाल्ने,
• स्वदेश तथा विदेशमा काम गर्ने श्रमिकको तलब तथा अन्य सुविधा कटौती हुन गई बचतमा कमी आउने,
• विप्रेषण आयले घरपरिवार चलाउने परिवारमा दैनिक गुजारा चलाउन समेत समस्या देखिने,
 • विप्रेषण आयकै कारण गरिबी घट्न गएकोमा आगामी दिनमा स्वदेश तथा विदेशमा रोजगारी गुमाउनु पर्दा गरिबी झनै बढेर जाने देखिन्छ,
• आधारभूत आवश्यकता समेत प्राप्त गर्न नसक्ने हुँदा बालबालिकामा कुपोषण तथा अन्य रोगको सिकार हुनुपर्ने अवस्था सिर्जना हुने,
• नेपालबाट निर्यात हुने अधिकांश वस्तुहरू पर्यटन क्षेत्रसँग सम्बन्धित हुने हुँदा निर्यात व्यापार समेत प्रभावित हुने,
• विप्रेषण आप्रवाहमा कमी हुँदा बढ्दो अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा व्यापार घाटा झनै बढेर जाने देखिन्छ ।

अन्ततः विप्रेषण रकम नभए नेपालको आर्थिक अवस्थामा केही सकारात्मक असर पर्ने भएतापनि धेरै जसो नकारात्मक असर नै पर्ने देखिन्छ । त्यसैले हामीले विप्रेषण रकमलाई सन्तुलित रुपमा प्रयोग गरेर नेपालको आर्थिक अवस्थामा टेवा पर्याउनु पर्दछ।

२.विप्रेषण रकम उत्पादनभन्दा उपभोगमा खर्च भएको अवस्थामा यसको सदुपयोग कसरी गर्न सकिन्छ, बुँदागत रूपमा सुझाव दिनुहोस् ।

उत्तर: वैदेशिक रोजगारमा गएकाहरूले पठाएको विप्रेषण अर्थतन्त्रको मुख्य खम्बा भए पनि यसलाई स्थायी र भरपर्दो क्षेत्रमा लगानी गर्ने बानीको विकास भएको छैन। राज्यले पनि विप्रेषणलाई दीर्घकालसम्म जोगाइराख्ने र उत्पादनशील क्षेत्रमा लगानी गर्ने प्रभावकारी नीति ल्याउन सकेको छैन। फलस्वरूप विदेशी भूमिमा रगत र पसिला चुहाएर कमाएको पैसा उत्पादनशील क्षेत्रमा लगाउनेभन्दा दैनिक गर्जो टार्ने नाममा मोजमस्ती र विलासी जीवन बिताउनेतर्फ धेरै हुने गरेको छ ।

विप्रेषण रकम उत्पादनभन्दा उपभोगमा खर्च भएको अवस्थामा यसको सदुपयोग यसकिसिमले गर्न सकिन्छ:
• विप्रेषण आयले आधारभूत आवश्यकता परिपूर्ति गरी बाँकी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पुँजीको आवश्यकतालाई पूर्ति गर्ने,
• वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको प्रभावले गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सुविधाको उपयोगका साथै नेपालीहरूको क्रय क्षमतामा वृद्धि गर्ने,
• विभिन्न वैदेशिक रोजगार बचतपत्र, शेयर तथा ऋणपत्रमा लगानी गरी पुँजी परिचालन गर्ने,
• विश्वभर नेपालीहरू रोजगारीको सिलसिलामा पुग्ने हुँदा नेपालको कला संस्कृति र प्रमुख पर्यटकीय स्थलहरूको प्रचार प्रसारसँगै पर्यटन क्षेत्रको विकासमा जोड दिने,
• वैदेशिक रोजगारीमा गएका नेपालीहरूले विभिन्न सङ्घ सङ्गठनमा आवद्धता जनाई देश विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरूलाई आर्थिक सहयोग गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरी नेपाली कलाकार देश विदेश घुम्ने तथा प्रत्यक्ष तथा परोक्ष रोजगारी सिर्जना गर्ने,
• प्राप्त रकमको सदुपयोगबाट उल्ल्लेखनीय रूपमा समग्र कूल गार्हस्थ्य उत्पादनमा सुधार ल्याउने ।

अतः विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने सार्थक नीति अवलम्बन गर्नुपर्छ । वैदेशिक रोजगार बचतपत्र, रेमिट हाइड्रोलगायतका कार्यक्रम प्रभावकारी बनाउनुपर्छ । साना लगानीकर्तालाई सेयर बजार, कृषि, पशुपालनलगायतका सानो लगानीबाट पनि सञ्चालन गर्न सकिने व्यवसाय सञ्चालनतर्फ आकर्षित गराउनुपर्छ। समूहमा लगानी गर्ने बानीको विकास गर्नुपर्छ। यसरी व्यवसाय गर्न चाहनेलाई राज्यले उपलब्ध गराउँदै आएको अनुदान प्रभावकारी बनाउनुपर्छ। स्वदेशमै व्यवसाय सञ्चालन गरिँदा विदेशबाट आयात गर्नुपर्ने सामान यतै उत्पादन हुँदा बिदेसिने पैसा रोक्न सकिन्छ। यसो हुँदा स्वदेशमै रोजगार सिर्जना गर्न सकिन्छ ।

Similar Posts

Leave a Comment