एकाइ -नौ

पाठ: २ बस्ती विकास ( Basti Bikash )

१. हाम्लेट र गाउँका बिचको फरक छुट्याउनुहोस्।

उत्तर: हाम्लेट र गाउँका बिचको फरक यसप्रकार रहेका छनः

हाम्लेटगाउँ
हाम्लेट गाउँको पूर्व अवस्था हो ।गाउँ हाम्लेटको विस्तारित रूप हो।
यस्तो बस्तीमा एउटै जाति वा परिवारका मानिसहरू बस्दछन।यस्तो बस्तीमा विविन्न जाति वा परिवारका मानिसहरू बस्दछन ।
बस्तीका जातिअनुसार सामाजिक सेवाको विकास गरिन्छ ।सबै जातिका साझा आवश्यकता अनुसार सेवा विकास गरिन्छ ।
मानिसहरूका धार्मिक आस्था अनुसारका धार्मिक स्थलको निर्माण गरिन्छ ।बस्तीको प्रकृति अनुसार धार्मिक स्थलको निर्माण गरिन्छ ।
समुदाय अनुसारको धार्मिक गतिविधि गरिन्छ।सबै समुदाय, धर्म र जातिका मानिसहरूको धार्मिक गतिविधि गरिन्छ ।

२. ‘बस्तीको प्रकृति र सामाजिक सेवाबिच गहिरो सम्बन्ध हुन्छ ।‘ यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।

उत्तर: जब बस्तीको प्रकृतिमा नियमित रूपमा परिवर्तन र विस्तार हुन्छ तब बस्तीको आकार र कार्यमा पनि विस्तार हुन्छ । यसले बस्तीहरूमा जनसङ्ख्याको वृद्धि हुन गई नयाँ नयाँ गतिविधि र सेवाहरू थपिन थाल्छन् । सेवा र सुविधाहरू थपिदै जाँदा बस्तीको प्रकृति पनि परिवर्तन हुँदै जान्छ । त्यसैले बस्तीको प्रकृति र सामाजिक सेवाविच गहिरो सम्बन्ध छ।

उदाहरणका लागि डेनिल र हपकिन्सनका अनुसार बस्तीलाई एउटा त्यस्तो स्थानका रूपमा लिइन्छ जहाँ मानिसहरू बस्दछन् र विभिन्न किसिमका क्रियाकलापहरू, जस्तै व्यापार, शिल्प, उद्योग आदि गर्दछन् । यसका लागि खानेपानी, इन्धन, खाना, स्वास्थ, शिक्षा, सुरक्षा, यातायात र सञ्चार जस्ता सामाजिक सेवाको आवश्यकता पर्दछ । विभिन्न खालका बस्तीहरूमा सामाजिक सेवाको आवश्यकता उपलब्धता पनि फरक फरक हुन सक्छ। एकाकी बस्ती कृषिमा आधारित एउटा बस्ती हो। खासगरी घरबाट कृषि फार्मसम्म आवतजावत गर्न गाह्रो हुने हुनाले कृषि फार्ममा यस्ता बस्तीहरूको निर्माण हुन्छ । यस्ता वस्तीहरूमा आधारभूत सेवाहरू खानेपानी, बिजुली, सिंचाइ आदिको आवश्यकता अनुसार उपलब्धता हुन्छ। एक वस्तीबाट अर्को बस्ती अलिक टाढा हुँदा ती बस्तीहरूमा सुरक्षाको आवश्यकता बढ़ी पर्दछ । यस्ता ठाउँहरूमा महत्त्वपूर्ण सामाजिक सेवाका रूपमा शान्ति सुरक्षा आवश्यक पर्दछ ।

३. बस्ती विकास भनेको के हो, मानव जीवनमा यसको महत्त्व उल्लेख गर्नुहोस् ।

उत्तर: जब बस्तीको प्रकृतिमा नियमित रूपमा परिवर्तन र विस्तार हुन्छ तब बस्तीको आकार र कार्यमा पनि विस्तार हुन्छ, यसले बस्तीहरूमा जनसङ्ख्याको वृद्धि हुन गई नयाँ नयाँ गतिविधि र सेवाहरू थपिन थाल्छन्, यसलाई नै बस्ती विकास भनिन्छ । मानव जीवनमा बस्ती विकासको अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ, केही महत्त्वहरु निम्नानुसारका छन्:

• यसले मानवीय आवश्यकता परिपूर्ति गर्दछ,
• मानिसहरूले गर्ने विभिन्न किसिमका कृयाकलापहरु जस्तै कृषि, उद्योग, व्यापार व्यवसाय आदिमा यसले सहजता ल्याउँदछ,
• यसले वस्तीको प्रकृतिमा नियमित रुपमा परिवर्तन र विस्तार गर्दछ,
• यसले वस्तीमा नयाँ नयाँ गतिविधि र सेवाहरु थप्दछ,
• यसले गुणस्तरीय खानेपानी, खाना, स्वास्थ्य सेवा, शिक्षा, सुरक्षा, यातायात र सञ्चार जस्ता मानवका सामाजिक आवश्यकता उपलब्ध गराउँदछ ।

४. ‘मानव बस्तीको पर्यावरणीय क्षेत्रसँग गहिरो सम्बन्ध रहेको छ ।‘ यस भनाइलाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।

उत्तरः मानव बस्तीको पर्यावरणीय क्षेत्रसंग गहिरो सम्बन्ध रहेको हुन्छ । मानिसले आफ्ना आवश्यकता, क्षमता तथा रुचिअनुसार प्राकृतिक वातावरणको सीमाभित्र बसेर वातावरणसित अन्तरसम्बन्ध कायम गर्दछ । तसर्थ बस्तीको विस्तार स्वरूप र संरचनामा पर्यावरणको प्रत्यक्ष प्रभाव पर्दछ । बस्तीको विकासको प्रकृतिलाई विश्लेषण गर्दा सर्वप्रथम बस्तीको विकास नदी तथा समुद्र किनारका उर्वर भूमिको आसपासबाट भएको अनुमान गर्न सकिन्छ । अहिलेका विकसित सहरहरूको अध्ययन गर्ने हो भने कृषिका लागि प्रतिकूल तर व्यापारका लागि अनुकूल क्षेत्रमा पनि बस्तीको विकास भएको पाइन्छ । कृषिमा नयाँ प्रविधिको विकासका कारण विकसित मुलुकहरूमा ग्रामीण बस्तीका स्वरूपमा व्यापक परिवर्तन आएको पाइन्छ । नेपालको पहाडी भूभागमा सामाजिक, आर्थिक, धार्मिक र सुरक्षाका कारण एकत्रित बस्तीको विकास भएको हो । विश्वका कृषि भूमिको बढी उपयोग भएको र अन्य सुविधाहरू प्राप्त स्थानहरूमा बस्तीको स्वरूपमा निकै परिवर्तन भएको छ । यी क्षेत्रहरूमा एकत्रित बस्तीको विकास भएको छ । फिलिपिन्स, पुर्वी तथा पश्चिमी मलेसिया र घानामा छरिएर रहेका बस्तीमा व्यापक सुधार भएको पाइन्छ । विश्वभरि नै उपयुक्त भौगोलिक अवस्था भएका ग्रामीण वस्ती बजार केन्द्रका रूपमा विकसित भएका छन् ।

मानव बस्ती र पर्यावरणको सम्बन्ध गहिरो रहेको कुरा प्राचीन मानव सभ्यताहरूले पनि प्रस्ट पार्दछ। मानव बस्तीको विकासक्रमको धेरै पुरानो इतिहास रहेको छ । मानिसहरूले स्रोत र साधनहरूको उपलब्धता भएको स्थानमा बस्तीहरूको विकास गरी बसोबास गरेको पाइन्छ । विशेष गरेर त्यतिबेला पानी र यातायातको उपलब्धता नै बस्ती विकासका मुख्य आधारहरू थिए । त्यसैकारणले गर्दा नै प्रायः प्राचीन बस्तीहरू नदी किनार क्षेत्रमा नै विकास भएका पाइन्छन् । मिश्रकी सभ्यता नाइल नदीको किनारमा, मेसोपोटामियाको सभ्यता युफ्रेटस एवम् टिग्रिस नदीको बिचमा र सिन्धुघाटीको सभ्यता सिन्धु र रामी नदीको किनारमा विकास भएका थिए । यसरी पानीको स्रोत छेउछाउको पर्यावरणीय अवस्थाले प्राचीन बस्तीको विकासमा सहयोग पुयाएको इतिहासले प्रस्ट पार्दछ ।

उदहरणका लागि नेपालको हिमाल, पहाड र तराई गरी तीन पर्यावरणीय क्षेत्रहरूलाई लिन सकिन्छ । यी क्षेत्रहरूमा विकास भएका बस्तीहरू पनि आआफ्नै शैलीका छन् । तराई क्षेत्रका पुराना बस्तीहरूमा काठका वा माटो र बाँसले बनेका होचा घरहरू पाइन्छन् । यहाँ जङ्गली जनावरहरूको आक्रमणबाट बच्नका लागि एकीकृत बस्तीहरू निर्माण गरिएका छन् । पहाडी प्रदेशमा भिरालो भूधरातल कम उर्वरायुक्त जमिन आदिका कारणले गर्दा बस्तीहरू छरिएर रहेका छन् । हिमाली प्रदेशमा पनि स्रोत र साधनको उपलब्ध भएको स्थानमा सघन बस्ती रहेको पाइन्छ । यी माथिका व्याख्याबाट मानव बस्तीको पर्यावरणीय क्षेत्रसँग गहिरो सम्बन्ध रहेको छ भन्ने प्रष्ट हुन्छ ।

Similar Posts

Leave a Comment