एकाइ – सात: हाम्रो विगत

पाठ १ वि.सं. २००७ को क्रान्ति र दिल्ली सम्झौता

अभ्यास

१. दिल्ली सम्झौतालाई त्रिपक्षीय सम्झौता भनिन्छ । किन ?

उत्तर : राणा विरोधी जनक्रान्तिका कारण राणाहरू काठमाडौँमा मात्र सीमित हन पुगेपछि अत्तालिएर मोहन शमशेरले भारतलाई मध्यस्थता गर्न आग्रह गरे । त्यसपछि भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मध्यस्थतामा वार्ता भयो। यो वार्ता राणा, नेपाली काङ्ग्रेस र राजा त्रिभुवनका बिचमा भएको थियो । यी तीन पक्षमा बिचमा वार्ता भई सम्झौता भएकाले दिल्ली सम्झौतालाई त्रिपक्षीय सम्झौता भनिन्छ।

२. प्रजातन्त्र स्थापनाका लागि राजा त्रिभुवनको भूमिकाको समीक्षा गर्नुहोस्

उत्तर : प्रजातन्त्र स्थापनाका लागि राजा त्रिभुवनको भूमिका निकै महत्त्वपूर्ण र सक्रिय रहेको थियो । वि.सं. १९९३ जेठ २० गते नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद् गठन भएको थियो । धर्मभक्त माथेमा यस दलका संस्थापक सदस्य थिए यस दलले राणा विरोधी गतिविधि सञ्चालन गरेको थियो । यस कार्यमा राजा त्रिभुवनले धर्मभक्त माथेमाका माध्यमबाट गोप्य रूपमा आर्थिक र नैतिक समर्थन गरेका थिए । यो कुरा राणाहरूले थाहा पाएपछि राजाका सम्पर्ण सुविधा कटौती गर्ने र निगरानी गर्ने कार्य गरेका थिए । वि.सं. १९९७ मा चार सहिदलाई मृत्युदण्ड दिइएपछि राणा विरोधी आन्दोलनले तीव्रता पाएको थियो । वि.सं. २००३ काङ्ग्रेस र २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना भयो । २००७ कार्तिक २१ गते नेपाली काङ्ग्रेसले राणा शासनविरुद्ध सशस्त्र क्रान्ति गर्ने घोषणा गर्यो । यसै समयमा राजा त्रिभुवनले यस क्रान्तिलाई सहयोग गर्ने गरी कार्तिक २३ गते सपरिवार भारतीय विमानद्वारा दिल्ली प्रस्थान गरे । राणाहरू काठमाडौँमा मात्र सीमित भएपछि भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मध्यस्थतामा राणा, राजा र नेपाली काङ्ग्रेसका बिचमा दिल्ली सम्झौता भयो । तत्पश्चात् राजा त्रिभुवन फागुन ४ गते नेपाली फर्के र ७ गते प्रजातन्त्र स्थापना भएको घोषणा गरे । यसप्रकार प्रजातन्त्र स्थापनाका लागि राजा त्रिभुवनको भूमिका निकै महत्त्व रहेको थियो ।

३. दिल्ली सम्झौताका मुख्य बुँदा के के थिए ?

उत्तर : दिल्ली सम्झौताका मुख्य बुँदा निम्न थिए ।

(क) जनतादवारा निर्वाचित विधान सभाले संविधान निर्माण गर्ने

(ख) १० जना ( ५ जना नेपाली काङ्ग्रेस र ५ जना राणाहरू) सदस्य रहेको अन्तरिम मन्त्रीमण्डल गठन गर्ने

(ग) श्री ३ मा निहित भएका सबै अधिकार राजालाई सुम्पिने र वैधानिक राजा त्रिभुवन नै हने

(घ) फौजदारी अभियोग लागेकाबाहेक अरू सबै राजबन्दीलाई रिहा गर्ने

(ङ) आन्दोलनकारीहरूले सरकारलाई आफ्ना हतियारहरू बुझाउनुपर्ने र आन्दोलन रोक्नुपर्ने

४. प्रजातन्त्रपछि पनि मोहनशमशेरलाई नै प्रधानमन्त्री बनाइयो । यसमा तपाईं सहमत या असहमत के हनुहन्छ ? कारणसहित लेख्नुहोस् ।

उत्तर : वि.सं. २००७ फागुन १ गते त्रिपक्षीय दिल्ली सम्झौता भएको थियो । यो सम्झौता राणा, राजा त्रिभुवन र नेपाली काङ्ग्रेसका बिचमा भएको थियो । यस सम्झौतामा भएका विभिन्न बुँदामध्ये एउटा बुँदा मोहन शमशेरको प्रधानमन्त्रीत्वमा १० सदस्यीय अन्तरिम मन्त्रीमण्डल गठन गर्ने उल्लेख गरिएको थियो । राजा त्रिभुवनबाट प्रजातन्त्र घोषणा भएपछि पनि मोहनशमशेरलाई नै प्रधानमन्त्री बनाइयो । सम्झौताअनुसार उक्त कार्य भएकाले यसमा म सहमत छु ।

Similar Posts

Leave a Comment