एकाइ – आठ आर्थिक क्रियाकलाप

पाठ १ ऊर्जा र विकास

अभ्यास

१. ऊर्जाको परिचय दिई यसका स्रोत उल्लेख गर्नुहोस् ।

उत्तर : प्रकृतिमा पाइने कोइला, दाउरा, ग्याँस, पेट्रोलियम पदार्थ, जल विद्युत्, आणविक र भट्टीबाट प्राप्त हुने शक्तिलाई ऊर्जा भनिन्छ । हाम्रा दैनिक क्रियाकलापमा ऊर्जाको प्रयोग दिन प्रतिदिन बढ्दै गइरहेको हुँदा यो मानव जीवनको अभिन्न अङ्गका रूपमा रहेको छ ।

ऊर्जाका नवीकरणीय स्रोतअन्तर्गत सूर्य, हावा, पानी आदिबाट प्राप्त उत्पादन भएका ऊर्जा पर्दछन् भने अनवीकरणीय स्रोतअन्तर्गत पेट्रोलियम पदार्थ, प्राकृतिक ग्याँस आदिबाट उत्पादित ऊर्जा पर्दछन् । त्यस्तै नेपालको सन्दर्भमा हेर्दा ऊर्जाका स्रोतलाई परम्परागत र व्यावसायिक गरी दुई भागमा विभाजन गर्न सकिन्छ :

(क) परम्परागत स्रोत: दाउरा, कृषिजन्य अवशेष आदि

(ख) व्यावसायिक स्रोत : पेट्रोलियम पदार्थ, कोइला, विद्युत् आदि ।

२. ऊर्जाको महत्व उल्लेख गर्नुहोस् ।

उत्तर : ऊर्जाको महत्व यसप्रकार उल्लेख गरिएका छन् :-

(क) खाना पकाउन, कलकारखाना सञ्चालन गर्न, यातायातको साधन चलाउन ऊर्जा चाहिन्छ ।

(ख) ऊर्जा शक्तिको स्रोत हो र मानव जीवनको अभिन्न अङ्ग बनेको छ ।

(ग) ऊर्जाको अभावमा विकास निर्माणका कार्य अघि बढाउन सकिँदैन ।

(घ) ऊर्जाबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।

(ङ) हरेक क्षेत्रमा ऊर्जाको आवश्यकता पर्छ । जस्तै : घरायसी काम, कार्यालय सञ्चालन, सञ्चार, यातायात, कृषि, उद्योग आदि ।

३. ऊर्जामा आत्मनिर्भर हुनका लागि अपनाउन सकिने उपाय लेख्नुहोस् ।

उत्तर : ऊर्जामा आत्मनिर्भर हुनका लागि अपनाउन सकिने उपाय निम्न छन् :-
(क) ऊर्जासम्बन्धी स्पष्ट, प्रभावकारी र देशअनुकूलको नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउने
(ख) ऊर्जाका स्रोतको पहिचान, संरक्षण तथा दिगो उपयोग गर्नेतर्फ ध्यान दिने
(ग) ग्रामीण क्षेत्रमा ग्याँसको सट्टा गोबरग्याँस र सहरी क्षेत्रमा कुहिने फोहोरको प्रयोग गरी बायोग्याँस र मल उत्पादन गर्ने
(घ) नेपालमा जलविद्युत् सबैभन्दा भरपर्दो ऊर्जाको स्रोत भएकाले आन्तरिक तथा बाह्य स्रोतका लगानी आकर्षित जलविद्युत् उत्पादन क्षमता बढाउने र सौर्य ऊर्जालाई पनि विशेष ध्यान दिने ।

४. नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको छ । यस भनाइलाई पुष्टि गर्नुहोस् ।

उत्तर : नेपालमा रहेका प्राकृतिक सम्पदामध्ये जलस्रोत महत्वपूर्ण सम्पदा हो । यहाँ भूमिगत र सतही दुवै प्रकारका अपार जलस्रोत उपलब्ध छ । यहाँका अधिकांश नदीहरू हिमालय पर्वतबाट उत्पत्ति भएकाले वर्षैभरि पानी हुन्छ । ठाडो ढालयुक्त जमिन भएको प्राकृतिक स्वरूप र स्थायी जल प्रवाह हुने नदीहरू प्रशस्त भएको हुनाले यहाँ जलविद्युत् विकासको सम्भावना धेरै छ । तसर्थ नेपालमा सबैभन्दा भरपर्दो ऊर्जाको स्रोतका रूपमा जलविद्युत्लाई लिइन्छ । नेपालमा सानाठुला गरेर करिब ६००० नदीनाला रहेका र ती नदीनालाबाट करिव ८३००० मेगावाट जलविद्युत् उत्पादन गर्ने सैद्धान्तिक क्षमता रहेको छ । कुल उत्पादन क्षमताको ५० प्रतिशत मात्र जलविद्युत् उत्पादन गर्न सकिए पनि नेपालको ऊर्जाको आवश्यकता परिपूर्ति गर्न सकिन्छ । तसर्थ नीतिगत सुधार गरी कार्यान्वयन पक्ष बलियो बनाउने हो भने नेपालमा जलविद्युत् विकासको अपार सम्भावना रहेको छ ।

५. नेपालको आर्थिक विकासमा जलविद्युत् क्षेत्रको योगदान छोटकरीमा व्याख्या गर्नुहोस् ।

उत्तर : नेपालमा सानाठुला गरेर करिब ६,००० नदीनाला रहेका र ती नदीनालाबाट करिव ८३,००० मेगावाट जलविद्युत् उत्पादन गर्ने सैद्धान्तिक क्षमता रहेको छ । यसमध्ये करिब ४२,००० मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने व्यावहारिक सम्भावना रहेको विभिन्न अध्ययनले देखाएका छन् । नेपालको आर्थिक विकासमा जलविद्युत् क्षेत्रको योगदान निकै महत्वपूर्ण रहेको छ।

नेपालको आर्थिक विकास गरी उज्ज्वल भविष्य जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र विस्तारमा देखिएको छ । यसका लागि नीतिगत सुधार आवश्यक हुन्छ । त्यस्तै जलविद्युत् विकासमा देखिएका अवरोध न्यूनीकरण गरी प्रशस्त विद्युत उत्पादन गर्न सके देशभित्र नै उद्योगधन्दा कलकारखाना सञ्चालनका ला ऊर्जा जुटाउन सकिन्छ । घरायसी प्रयोगमा ल्याउन सकिन्छ । विद्युतीय सवारी साधन प्रयोगमा ल्याउन सकिन्छ । त्यस्तै कृषि क्षेत्रमा पनि यसको प्रयोग गरी कृषि उत्पादन बढाउन सकिन्छ । सञ्चार तथा प्रविधिको विकास गर्न सकिन्छ । यसले गर्दा वनजङ्गलको संरक्षण हुनुका साथै पेट्रोलियम पदार्थमा बाहिरिने विदेशी मुद्रा नियन्त्रण गर्न सकिन्छ । यसले गर्दा देशमै रोजगारीको अवसर सिर्जना हुन्छ । यसरी नेपालको आर्थिक विकासमा जलविद्युत् क्षेत्रको महत्वपूर्ण योगदान पुग्छ ।

Similar Posts

Leave a Comment