एकाइ – तीन
पाठ १ हाम्रा राष्ट्रिय सम्पदा
अभ्यास
१. राष्ट्रिय सम्पदा भनेको के हो ? ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको एक एक ओटा उदाहरण दिनुहोस् ।
उत्तर : देशको पहिचान र गौरव दिलाउने हाम्रा पूर्वजबाट प्राप्त महत्त्वपूर्ण र संरक्षण योग्य स्थान, वस्तु, कला, संस्कृति र प्राकृतिक परिवेशलाई राष्ट्रिय सम्पदा भनिन्छ । सिन्धुली गढी ऐतिहासिक, मुक्तिनाथ सांस्कृतिक र सगरमाथा प्राकृतिक सम्पदाका उदाहरण हुन् ।
२. मूर्त र अमूर्त सम्पदा भनेको के हो ? उदाहरणसहित लेख्नुहोस् ।
उत्तर : मूर्त सम्पदा भनेका त्यस्ता सम्पदा हुन् जुन सम्पदा भौतिक रूपमा रहेका हुन्छन् । यस्ता सम्पदालाई हामी प्रत्यक्ष देख्न वा हेर्न सक्छौं । मन्दिर, गुम्बा, वनजङ्गल, धार्मिक ग्रन्थहरू, लोक तथा शास्त्रीय नृत्यहरू, परिकारहरू मूर्त सम्पदाका उदाहरण हुन् ।अमूर्त सम्पदा भनेका त्यस्ता सम्पदा हुन् जुन सम्पदा मूर्त रूपमा नदेखिने हुन्छन्, रूप नभएको र आकार नभएको हुन्छ ।
संस्कारहरू, प्रचलनहरू, चाडपर्व मनाउने तरिकाहरू, पूजा विधि, परिकार बनाउने तरिका, चित्र बनाउने तरिका यसका उदाहरण हुन् ।
३. हाम्रा राष्ट्रिय सम्पदाको आर्थिक, सामाजिक एवम् सांस्कृतिक महत्त्व उल्लेख गर्नुहोस् ।
उत्तर: हाम्रा राष्ट्रिय सम्पदाको आर्थिक, सामाजिक एवम् सांस्कृतिक महत्त्वलाई निम्न बुँदाबाट स्पष्ट पार्न सकिन्छ :- (क) स्थानीय तथा राष्ट्रिय पहिचान र गौरव कायम हुने
(ख) हाम्रो गहना र पहिचानका रूपमा रहेका
(ग) पूर्वजको ज्ञान, सिप र प्रविधिको जानकारी र हस्तान्तरण हुने
(घ) खोज, अध्ययन तथा अनुसन्धानमा सहयोग पुग्ने
(ङ) पर्यटन प्रवर्धनमा सहयोग पुग्ने
(च) जैविक विविधता र वातावरण संरक्षणमा सहयोग पुग्ने
(छ) देशको चौतर्फी विकासमा सहयोग पुग्ने (ज) मौलिक कला र संस्कृतिको संरक्षण हुने ।
४. राष्ट्रिय सम्पदा संरक्षणमा प्रेरणा जगाउने नारा तयार गर्नुहोस् ।
उत्तर : राष्ट्रिय सम्पदा संरक्षणमा प्रेरणा जगाउने नारा :-
राष्ट्रको गहना, राष्ट्रको पहिचान अनि बढ्छ गौरव सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सम्पदाले विश्वमा छर्छन् नेपालको सौरभ ॥
५. “राष्ट्रिय सम्पदा संरक्षणमा सरोकारवालाको भूमिका” शीर्षकमा सम्पादकीय तयार पार्नुहोस् ।
उत्तर : राष्ट्रिय सम्पदा संरक्षणमा सरोकारवालाको भूमिका (सम्पादकीय)
स्वयम्भूनाथ, हनुमान ढोका दरबार क्षेत्र, लुम्बिनी, पशुपति क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज, बौद्धनाथ महाचैत्य
नेपालका विश्वसम्पदा सूचीमा सूचीकृत भएका राष्ट्रिय सम्पदा हुन् । विश्वसम्पदा सूचीमा सूचीकृत भएकाबाहेक पनि नेपालमा धेरै सम्पदा रहेका छन् जुन सम्पदा विश्वसम्पदा सूचीमा समावेश गर्न योग्य र उपयुक्त छन् । अझ कतिपय स्थानमा त यस्ता सम्पदाहरूको खोज र पहिचानसमेत गर्न सकिएको छैन । यस्ता कुरालाई हामीले धेरै महत्त्व दिइरहेका छैनौं । यी हाम्रा लागि निकै महत्त्वपूर्ण छन्, सांस्कृतिक, सामाजिक र आर्थिक हिसाबले ।
राष्ट्रिय सम्पदा हाम्रा चिनारी र गहना हुन् । यिनले राष्ट्रको पहिचान र गौरव दिलाउने काम गर्दछ । यिनलाई राज्यका सबै नागरिकको मूल्यवान् सम्पत्तिका रूपमा लिइन्छ । यी हाम्रा पुर्खाका आदर्श, धरोहर, उच्च कालीगढी नमुना, सभ्यता र परम्पराका द्योतक पनि हुन् । यस्ता सम्पदाको संरक्षण, सम्वर्धन र प्रवर्धनमा सबै नागरिकको समान अधिकार र कर्तव्य रहेको हुन्छ । अहिले तीन तहका सरकार छन् । सबै तहका सरकारले विशेष चासो दिने हो भने यस्ता सम्पदाको पहिचान संरक्षण र सम्बर्धनमा धेरै समय लाग्दैन । हरेक क्षेत्रमा यस्ता सम्पदाको संरक्षण गरी आफ्नो पहिचा दिलाउने मात्र होइन आन्तरिक र बाह्य पर्यटनलाई प्रवर्धन गरी आर्थिक क्षेत्रमा ठुलै फड्को मार्न सकिन्छ । यसमा सरोकारवालाहरू नागरिक, समुदाय, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको सराकारात्मक दृष्टि पर्नु जरुरी छ । यस्ता कार्यमा लागि पनि नीति तथा कार्यक्रम बनाउने र कार्यान्वयन गर्ने तर्फ चासो दिनु जरुरी छ ।