एकाइ–दस

पाठ:-१ नेपालको अर्थतन्त्रका आधार र विशेषताहरु

१. धेरैओटा आर्थिक विकासको प्रयासका बाबजुद पनि नेपालको अर्थतन्त्रले गति लिन सकेको देखिँदैन । यसका कारणहरू पहिल्याउनुहोस् ।

उत्तरः
धेरैओटा आर्थिक विकासको प्रयासका बाबजुद पनि नेपालको अर्थतन्त्रले गति लिन नसकेको कारण यसप्रकारका छन्:
• नेपालको अर्थतन्त्रमा दीर्घकालीन संरचनात्मक समस्या र कमजोरी रहेका छन्,
• अर्थतन्त्रमा लगानीको आधार न्यून हुनु,
• नेपालको श्रम बजार बेरोजगारी र सीपयुक्त जनशक्तिको अभावको विरोधाभासपूर्ण अवस्थामा रहनु,
• उत्पादनमूलक क्षेत्रको संकुचनसँगै रोजगारीका अवसरहरु कुण्ठित हुँदै जानु,
• उद्योग क्षेत्र प्रतिस्पर्धी बन्न नसक्नु,
• कमजोर पूर्वाधारका कारणले आर्थिक क्रियाकलापहरु संकुचित हुनु,
• भौतिक पूर्वाधार विकासमा सरकारसँगै निजी क्षेत्रको क्षमता पनि कमजोर हुनु,
• बढ्दो राजनीतिक अस्थिरता, भ्रष्टाचार एवं नातावाद र कृपावाद आदि ।

अतः कृषिमा आधारित जनसंख्या, विप्रेषणमा आधारित अर्थतन्त्र, गरिबी, भूपरिवेष्ठित अर्थतन्त्र, अल्पविकसित देश, राष्ट्रिय आयको असमान वितरण, असन्तुलित क्षेत्रीय विकास,प्राकृतिक श्रोतको अल्प उपयोग, सानोआकारको वैदेशिक व्यापार, मिश्रित अर्थतन्त्र, विदेशी सहायतामा निर्भर अर्थतन्त्र, मानव संसाधनको न्यून विकास, प्रचुर सम्भावनाबीच न्यून पर्यटकीय व्यवसाय, सांस्कृतिक सम्पदाको न्यून उपयोग, न्यून ऊर्जा उपयोग, न्यून आर्थिक विकास दर आदि वर्तमान नेपालको उन्नत आर्थिक विकासमा बाधकको रूपमा रहेका छन् ।

२. नेपालको अर्थतन्त्रका सबल र कमजोर पक्षहरू पहिल्याई नेपालको अर्थतन्त्रलाई सुदृढ गर्ने उपायहरु लेख्नुहोस् ।

उत्तरः नेपालको अर्थतन्त्रका सबल पक्षहरू निम्नानुसारका छन्ः
• सर्वसुलभ, गुणस्तरीय र आधुनिक पूर्वाधार निर्माण, उत्पादनशील र मर्यादित रोजगारी अभिवृद्धि, उच्च, दिगो र समावेशी आर्थिक वृद्धि तथा गरिबी निवारण, गर्दै समृद्धिको आधार निर्माण,
• गुणस्तरीय स्वास्थ्य तथा शिक्षा, स्वस्थ तथा सन्तुलित वातावरण, सामाजिक न्याय र जवाफदेही सार्वजनिक सेवा कायम गरी संघीय शासन व्यवस्थाको सुदृढीकरण गर्दै नागरिकलाई परिष्कृत र मर्यादित जीवनयापनको अनुभूति,
• सामाजिक-आर्थिक रूपान्तरण तथा स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण गरी देशको स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय हित संरक्षण,

नेपालको अर्थतन्त्रका कमजोर पक्षहरू निम्नानुसारका छन्:
• नेपालको अर्थतन्त्रमा दीर्घकालीन संरचनात्मक समस्या र कमजोरी रहेका छन्,
• अर्थतन्त्रमा लगानीको आधार न्यून हुनु,
• सरकारको कुल खर्च बढेको तुलनामा पूँजीगत खर्चको आकार सानो रहेको छ,
• राजस्वले चालु खर्च धान्न सक्ने स्थिति छैन,
• नेपालको कुल गार्हस्थ्य उत्पादनको आकार वास्तविकता भन्दा न्यून आँकलन हुने गरेको अनुमान छ,
• नेपालको आर्थिक वृद्धिदर कम त छँदैछ, भएको वृद्धिको पनि न्यायिक वितरण भएको छैन,
• उत्पादनमूलक क्षेत्रको संकुचनसँगै रोजगारीका अवसरहरू कुण्ठित हुँदै गएका छन्,
• नेपालको श्रम बजार बेरोजगारी र सीपयुक्त जनशक्ति अभावको विरोधपूर्ण अवस्थामा छ ।

मुलुकको अर्थतन्त्रमा लामो समयदेखि विद्यमान कमजोरीको समाधान एउटै निकाय, एउटै संस्था वा एउटै तहबाट मात्र सम्भव छैन । राज्यका सबै जिम्मेवार तह, संस्था, पदाधिकारी र आम नागरिकको सहकार्यबाट मात्र माथि उल्लेखित कमजोरी एवं चुनौतिहरूको सामना गर्न सकिन्छ ।

अर्थतन्त्रलाई सुदृढ गर्ने उपायहरु यसप्रकार रहेका छन्ः
• तीव्र, दिगो र रोजगारमूलक आर्थिक वृद्धि गर्ने,
• सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुनिश्चित गर्ने,
• आन्तरिक तथा अन्तरदेशीय अन्तर आबद्धता एवम् दिगो शहरबस्ती विकास गर्ने,
• उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने, पूर्ण, दिगो र उत्पादनशील सामाजिक सुरक्षा तथा संरक्षण गर्ने,
• गरिबी निवारण र आर्थिक सामाजिक समानता सहितको न्यायपूर्ण समाज निर्माण गर्ने,
• प्राकृतिक स्रोतको संरक्षण र परिचालन तथा उत्थानशीलता विकास गर्ने,
• सार्वजनिक सेवाको सुदृढीकरण, प्रादेशिक सन्तुलन र राष्ट्रिय एकता सम्बर्द्धधन गर्ने ।

Similar Posts

Leave a Comment